nmb bank

गृहपृष्ठ रसुवागढी नाका आजदेखि पुन: सञ्चालन

रसुवागढी नाका आजदेखि पुन: सञ्चालन

रसुवागढी नाका आजदेखि पुन: सञ्चालन

कोभिड-१९ संक्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुन: सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ । नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाका हुँदै रसुवा फर्किएका छन् ।

कोरोना संक्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमश: सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए । आगाम मे १ देखि तातोपानी नाकासमेत पुन: सञ्चालनमा आउने उनले बताए ।

नाका पुन: सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरूङ व्यापार संघका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए । रसुवागढी नाका पुन: सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरूङतर्फ पठाइएको छ । मालसामान आयातका लागि आजै ६३ ट्रक केरूङ पठाउने तयारी भइरहेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

केरूङका लागि आठ सय ८७ ट्रक पालैपालो पठाइने भएको छ । कोरोना संक्रमणमा कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल आज बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो । नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरूङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

सुरुमा हिमपात र ल्होसार पर्वका कारण तथा पछि कोभिड देखिएपछि २०७६ साल माघदेखि नै रसुवागढी नाका भएर हुने आयात-निर्यात प्रभावित थियो । २०७७ असारबाट भने पुनः सामान आयात थालिए पनि निर्यात भने ठप्प थियो । सामान निर्यात ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । मानिसको आवतजावत भने ३८ महिनादेखि नै ठप्प थियो ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु