global ime bank Long Banner Ad

गृहपृष्ठ ‘अब देशमा राजनीतिक स्थायित्व कायम हुन्छ’

‘अब देशमा राजनीतिक स्थायित्व कायम हुन्छ’

‘अब देशमा राजनीतिक स्थायित्व कायम हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरे ।

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने संकल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।’ सिंगाे राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।’ ६२ वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्व बोकेको उनले बताए । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको बताए । ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्वका साथ छलफल गर्नेछु,’ उनले भने ।

लुम्बिनी विमानस्थलका बिषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने उनले बताए । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्वका साथ अघि बढाएको उनको भनाइ छ । द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताए ।

चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै उनले त्यहाँबाट समेत छिट्टै उडान हुने बताए । ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो,’ उनले भने । विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुंगाका रुपमा काम गर्ने उनको विश्वास थियो । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको व्यारेकलाई भरतपुर महानगरपालिका-१ स्थित दियालो बंगला र घोडा प्रजनन केन्द्रलाई भरतपुर-११, गणेस्थाननजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उनले स्थानान्तरणका लागि एक-दुई दिनमा सहमति हुने बताए ।

फरक प्रसंगमा उनले चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण चाँडै सुरू हुने जानकारी दिए । रंगशालाको समस्या एक-दुई हप्तामा समाधान हुने र निर्माण अगाडि बढ्ने उनले बताए । उनले भने, ‘त्यो रंगशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण् अगाडि बढ्छ ।’

कार्यक्रममा नागरिक उड्डयन, संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले सरकार ग्रामीणस्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताए । ग्रामीणस्तरको ‘लाइफलाइन’का रुपमा यसको विकास गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो । उनले भने, ‘हवाई सुरक्षा माथि उठेका प्रश्न शून्य बनाउँदै ग्रामीणस्तरमा समेत सेवा पुर्‍याउन लागिपरेका छौं ।’ नेपाल वायुसेवा निगमका जहाजलाई अन्तर्राष्ट्रियस्तरमा र आन्तरिकस्तरमा समेत प्रभावकारी बनाउने उनले बताए । उनले थपे, ‘पर्यटकीय क्षेत्रमा नयाँ उडान गर्ने योजना रहेको छ ।’

नयाँ ट्रमिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको थियो । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एशियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइएको थियो ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टीकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहजरुपमा उपभोग गर्न सक्नेगरी बनाउन लागिएको छ ।

चौध कठ्ठा क्षेत्रफलमा आठ हजार वर्गमिटरको दुईतले ट्रमिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठतले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि एक अर्ब ९२ करोड रूपैयाँमा निर्माण कम्पनी केसी-क्षमादेवी-प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका छन् ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु