माछापुच्छ्रे बैंक र पेट्रोलियम डिलर्स एसोसिएसनबीच डिजिटल भुक्तानी सम्झौता
वि.सं.२०७९ चैत ७ मंगलवार १८:३५
shares

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पोस र क्यूआर लगायतबाट डिजिटल भुक्तानी सरल र विश्वासिलो तरिकाले गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले वातावरणमैत्री अर्थतन्त्र (ग्रिन इकोनमी)लाई टेवा पुर्याउने बैंकको रणनीतिअनुरुप बैंकले विभिन्न संघसंस्थासँग समन्वय गरी डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए । यसका साथै, उनले वास्तविक रुपमा डिजिटल्ली स्मार्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधाहरु तथा सचेतना कार्यक्रमहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको बताए ।
यस्तै, एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै दुई खर्बको तेल खरिदबिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा राखे ।
यसका साथै, प्रधानले पेट्रोलियम पदार्थको बिक्री गर्ने बिक्रेता एवं खरिद गर्ने क्रेता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसँगको सम्झौतापश्चात् सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

























