काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इमरान खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

6.64K
shares

पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच लाहाेरस्थित खान निवासअगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् ।

पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन् । गएराति पनि पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घरनजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुंगामुढाले प्रतिकार गरेका थिए । पीटीआईका एकजना कार्यकर्ताका अनुसार पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोलीसमेत हान्न थालेका छन् ।

गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आम निर्वाचनको माग गर्दै आएका छन् । सार्वजनिक रूपमा सरकारका कटु आलोचना गर्दै आएका उनीमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । सोही विषयमा जानकारी दिन अदालतले उनलाई बोलाएको छ । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए ।

इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट गरेका छन् । पञ्जाबका प्रहरी प्रमुख उस्मान अन्वरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने बाध्यता रहेको बताए ।

पीटीआईका समर्थकहरूको एक समूहले दक्षिणी बन्दरगाह शहर कराँची र उत्तरपश्चिमको पेशावरमा पनि जुलुस निकालेका छन् । उनीहरूले सडक पनि अवरुद्ध पारेका छन् । कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो । प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आएका छन् ।

पीटीआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामाबाद उच्च अदालतमा खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ । उक्त रिटमाथि आजै सुनुवाई हुने अपेक्षा गरिएको छ । गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ । पार्टीका पदाधिकारीहरूले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन् ।

राजनीतिक अस्थिरताका कारण निरन्तर शिथिल हुँदै गएको पाकिस्तानको अर्थतन्त्रलाई उकास्न अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रयास असफल भएका बेला अतिवादी समूहहरूले बेला-बेलामा गर्ने घातक आक्रमण एवं आत्मघाती हमालाबाट दक्षिण एसियाली निरन्तर प्रताडित भइरहेको छ । कानुन कार्यान्वयनमा कठिनाई हुँदा आपराधिक गतिविधि नियन्त्रणमा पनि असर परेको छ ।

राजनीतिक नेताले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई प्रयोग गरेर गिरफ्तारीलाई अस्वीकार गर्नुले पाकिस्तानको सबैभन्दा खराब अवस्थालाई प्रतिविम्बित गरेको लेखक, राजनीतिक विश्लेषक र मानवअधिकार कार्यकर्ता तौसीफ अहमद खान बताउँछन् ।