global ime bank Long Banner Ad

गृहपृष्ठ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलले लिए शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलले लिए शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलले लिए शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । उनले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् ।

उनलाई राष्‍ट्रपति भवन शीतलनिवासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराएका हुन् । राष्ट्रपति भवन शीतलनिवासमा शपथ समारोह आयोजना गरिएको थियो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सांसद पद र नेपाली कांग्रेसकाे जिम्मेवारीबाट राजीनामा पनि दिइसकेका छन् । यही फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पौडेलले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए ।

संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए ।

समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी थिए । यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मी लगायतकाे सहभागिता थियाे ।

नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा २०६२-६३ सालको जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।

यसैबीच, राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट महाराजगन्जस्थित छोरीको निवासमा सर्दैछिन् ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु