गृहपृष्ठ नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश
नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश
तस्बिर श्राेत : एन्फाकाे फेसबुक पेज ।
नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को विजेता बन्दै महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो ।
नेपालले खेलको पहिलो हाफमा पाँच गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल गरेको थियो । नेपालको जितमा दीपा शाही र सारा बज्राचार्यले दुई/दुई गोल गरे । सरस्वती हमाल र जेनिफर रानाले एक/एक गोल गरिन् । खेलको पाँचौं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । छैटौं मिनेटमा साराले गोल गर्दा नेपाल २-० ले अघि रह्यो । खेलको १९औं मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो ।
खेलको ३०औं मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाइन् । खेलको ४५औं मिनेटमा सारा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि नेपालले पहिलो हाफमै ५-० को अग्रता लियो ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन् जितसँगै समूह ‘बी’मा रहेको नेपालले दुई खेलमा छ अंक जोड्यो । छनोटअन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो । उक्त समूहमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।
दोस्रो चरणको छनोट खेल आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा सन् २०२४ म हुने यू-२० महिला एसियन कप खेल्नेछ ।
प्रकाशित समय : ०९:२६ बजे



















