गृहपृष्ठ नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित
नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित
भक्तपुर । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित भएका छन्। भक्तपुरस्थित होटल घ्याम्पेडाँडामा सम्पन्न संघको १९औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका थिए।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अरुणकुमार श्रेष्ठ, उपाध्यक्षमा धिरज जोशी, सचिवमा टेकराज पोखरेल, सहसचिवमा पवन सिलवाल तथा कोषाध्यक्षमा चुडामणि खतिवडा निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा श्रद्धा श्रेष्ठ, राजीव खड्का, अनिल पन्त, ज्ञानेन्द्र गौडेल तथा वेदप्रसाद पोखरेल निर्वाचित भएका छन्।
संघका निर्वाचन अधिकृत देवराज भण्डारीले अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ढुवानी व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउने विषयमा सरकार तथा सम्बन्धित निकायहरू गम्भीर रहेको बताए।
उनले काठमाडौं उपत्यकामा ट्रान्सपोर्ट नगर निर्माणको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै ढुवानी व्यवसायसँग सम्बन्धित यातायात पूर्वाधार, भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस) लगायतका विषयमा थप अध्ययन भइरहेको जानकारी दिए।
निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै सांसद गजुरेलले सक्षम र योग्य नेतृत्व चयन भएको विश्वास व्यक्त गर्दै नयाँ कार्यसमितिले व्यवसायीहरूको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।
निर्वाचनपश्चात आयोजित सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अच्युतराज खनालले ढुवानी व्यवसायलाई व्यवस्थित, सुरक्षित र व्यवसायमैत्री बनाउन सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
“राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानीको समृद्ध व्यापार” भन्ने नाराका साथ क्रियाशील नेपाल सामान ढुवानी व्यवसायी संघले देशभरका ढुवानी व्यवसायीहरूको साझा हित, पेशागत सुरक्षा, नीतिगत सुधार तथा ढुवानी क्षेत्रको आधुनिकीकरणका लागि निरन्तर काम गर्दै आएको छ। नवगठित कार्यसमितिले आगामी कार्यकालमा व्यवसायीका हकहित संरक्षण, क्षेत्रका समस्या समाधान तथा ढुवानी सेवाको गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिने जनाएको छ।
प्रकाशित समय : ०९:१९ बजे



















