गृहपृष्ठ चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा
चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन् ।
आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजार ः आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले चुनावपछि पुँजीबजार राम्रोसँग अघि बढ्ने अपेक्षा गरिए पनि त्यसअनुसार सुधार हुन नसकेको बताएका हुन् ।
उनले पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्दै तत्काल सुधार गर्न सकिने विषयमा बहस आवश्यक रहेको बताए । साथै, संसदमा प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसका सांसदहरूले पुँजीबजारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ छ ।
थापाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारबारे जानकारी र शिक्षा दिन तथा आगामी दिनमा यस विषयमा व्यापक दृष्टिकोण बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
उनले भने, ‘पुँजीबजारको सन्दर्भमा अहिलेको चुनावपछि सबैभन्दा राम्रोसँग जाला भनेर अनुमान गरिएको थियो । सबैमा अत्यन्तै उत्साह र अपेक्षा पनि थियो । तर दुर्भाग्यवश हाम्रो पुँजीबजार जसरी जानुपर्ने हो, त्यसरी जान सकेको छैन ।’
उनका अनुसार पुँजीबजारमा देखिएका समस्या, त्यसका कारण र तत्काल सुधार गर्न सकिने विषयमा छलफल गर्दै कांग्रेसले संसदमा आफ्नो भूमिका प्रभावकारी बनाउन खोजेको हो ।
‘हामी अहिले राज्यको प्रतिपक्षको जिम्मेवारीमा छौँ । संसदमा हाम्रा केही जिम्मेवारी छन् । ती विषयलाई कसरी उठाउन सक्छौँ भन्नेमा छलफल गरौँ भन्ने उद्देश्य हो,’ थापाले भने ।
उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारसम्बन्धी विषयमा सूचित र शिक्षित बनाउँदै भविष्यमा यसबारे स्पष्ट र व्यापक दृष्टिकोण निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।
प्रकाशित समय : २०:१३ बजे


















