global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु

नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु

नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक पाँचदिने शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम आइतबारदेखि सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको विशेष सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रममा कलेजका ६० जना शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको छ।

असार १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने कार्यक्रमको मुख्य उद्देश्य प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीको अनुसन्धान, तथ्याङ्क विश्लेषण र कम्प्युटरमा आधारित गणनात्मक सीप अभिवृद्धि गर्नु रहेको कलेजले जनाएको छ। कार्यक्रममार्फत सहभागीहरूलाई शिक्षण, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा पाइथन प्रोग्रामिङ भाषाको प्रभावकारी प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

तालिमको पहिलो दिन पाइथनको परिचय, कार्य वातावरण स्थापना, आधारभूत प्रोग्रामिङ शैली तथा नियन्त्रण संरचनासम्बन्धी प्रशिक्षण दिइनेछ। दोस्रो दिन फङ्सन, मोड्युल, तथ्य सङ्ग्रह संरचना तथा संख्यात्मक गणनासम्बन्धी विषयवस्तु समेटिनेछन्।

त्यसैगरी, तेस्रो दिन तथ्याङ्क विश्लेषण, तथ्य रूपान्तरण तथा वैज्ञानिक दृश्याङ्कनसम्बन्धी अभ्यास गराइनेछ भने चौथो दिन वैज्ञानिक गणना, अनुकूलन, संख्यात्मक समाकलन तथा इन्जिनियरिङसम्बन्धी व्यावहारिक अध्ययन प्रस्तुत गरिनेछ। पाँचौँ तथा अन्तिम दिन पुनः उत्पादन गर्न सकिने अनुसन्धान, साना परियोजना निर्माण, प्रस्तुतीकरण तथा भावी सम्भावनाका विषयमा छलफल गरिने कार्यक्रम रहेको नेपाल इन्जिनियरिङ कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए।

कार्यक्रममा कृत्रिम बुद्धिमत्ता तथा प्रविधि क्षेत्रका विज्ञ क्षितिज रिमाल र इन्जिनियरिङ शिक्षाका प्राध्यापक इन्जिनियर नारायण सापकोटा स्रोत व्यक्तिका रूपमा सहभागी थिए। उनीहरूले अनुसन्धान, डाटा विश्लेषण तथा इन्जिनियरिङ क्षेत्रमा पाइथनको प्रयोगसम्बन्धी अनुभव र ज्ञान सहभागीहरूसँग साझा गर्नेछ।

कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले सूचना प्रविधिको तीव्र विकाससँगै उच्च शिक्षामा डिजिटल दक्षताको आवश्यकता बढ्दै गएको बताए। उनले यस्ता कार्यक्रमले शिक्षक तथा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै अनुसन्धानमा आधारित शिक्षण, नवीन सोच तथा प्रविधिमैत्री सिकाइ वातावरण निर्माणमा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, सहायक प्राचार्य मोहनध्वज केसीले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रमले शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूलाई नवीन ज्ञान र सीप हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रमले सहभागीहरूलाई पाइथनमार्फत अनुसन्धान, तथ्याङ्क विश्लेषण तथा जटिल इन्जिनियरिङ समस्याहरूको समाधान खोज्न सक्षम बनाउने विश्वास लिइएको छ। मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले समयानुकूल प्राविधिक ज्ञान, अनुसन्धान तथा क्षमता विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

प्रकाशित समय : ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु