global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ को सार्वजनिक सुनुवाइ सम्पन्न, ६ बुँदे साझा प्रतिबद्धता घोषणा

नेपालगञ्ज उपमहानगरपालिका–१ को सार्वजनिक सुनुवाइ सम्पन्न, ६ बुँदे साझा प्रतिबद्धता घोषणा

नेपालगञ्ज उपमहानगरपालिका–१ को सार्वजनिक सुनुवाइ सम्पन्न, ६ बुँदे साझा प्रतिबद्धता घोषणा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजीकरणमा आइतबार सम्पन्न कार्यक्रममा ६ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो ।

घोषित प्रतिबद्धताअनुसार वडा नम्बर १ को सीमाक्षेत्रमा रहेका वडा नम्बर १२ र १८ सँगको सीमा स्पष्ट गर्न आवश्यक नीतिगत पहल गरिनेछ। साथै वडाको समग्र सरसफाइ तथा हरियाली प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइनेछ।

सुन्दरनगर टोलका विभिन्न सडकहरूको स्तरोन्नतिका लागि संघ तथा प्रदेश सरकारसँग योजना माग गरिसकिएको जनाउँदै प्राप्त योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। जेन्जीसहित मार्गको गेट तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिने निर्णय पनि गरिएको छ।

वडा नम्बर १ मा रहेका पर्यटकीय क्षेत्र वाटर पार्क र चिल्ड्रेन पार्कलाई व्यवस्थित तथा सुरक्षित बनाउँदै त्यहाँ देखिएका विकृति–विसंगति नियन्त्रणका लागि आवश्यक पहल गरिने जनाइएको छ। मस्जिद टोलको सडक कालोपत्रे गर्ने क्रममा प्राविधिक समस्या देखिएकाले सम्भव भए चालु आर्थिक वर्षभित्रै, अन्यथा आगामी आर्थिक वर्षको असोज मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यसैगरी वडाभित्र सञ्चालन हुने विकास निर्माण कार्यहरूको गुणस्तर अभिवृद्धिका लागि स्थानीयवासी र वडा कार्यालय दुवै सचेत रहने तथा एन्फा कम्पाउन्डको सौन्दर्यकरण र स्तरोन्नति गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।

वडा अध्यक्ष प्रमोद रिजाल प्रमुख सरोकारवालाका रूपमा सहभागी रहेको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कार्यपालिका सदस्य तथा महिला सदस्य कुमारी पुष्पा सिंह, दलित महिला सदस्य सीता परियार, सदस्य इन्द्रबहादुर राना, सदस्य जगमोहन काँदु तथा वडा सचिव हिक्मतबहादुर थापा माझी लगायतको सहभागिता रहेको थियो।

तीन घण्टाभन्दा बढी समय प्रश्नोत्तर तथा खुला छलफलका रूपमा सञ्चालन भएको कार्यक्रममा नागरिकहरूले सडक, नाली अभावका कारण वर्षायाममा हुने डुबान, हिलाम्मे सडक, सार्वजनिक स्थल संरक्षण, खानेपानी समस्या तथा सार्वजनिक जग्गा अतिक्रमणलगायत विषयमा गुनासा राखेका थिए। केही सहभागीले वडाको विकास र सेवा प्रवाह सुधारका लागि रचनात्मक सुझावसमेत दिएका थिए।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष प्रमोद रिजाल तथा अन्य सरोकारवालाहरूले दिएका थिए।

कार्यपालिका सदस्य तथा महिला सदस्य कुमारी पुष्पा सिंहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। सार्वजनिक सुनुवाइपूर्व संकलित नागरिक प्रतिवेदन तथा बहिर्गमन अभिमत बास नेपालका निर्देशक हेमराज भट्टले प्रस्तुत गरेका थिए भने चालु आर्थिक वर्षमा सम्पन्न योजनाहरूको प्रगति प्रतिवेदन वडा अध्यक्ष रिजालले प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए।

प्रकाशित समय : ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु