राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको फोटो
वि.सं.२०७९ फागुन २४ बुधवार ०९:५३
shares

राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र विपक्षी दल एमालेबाट उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् ।
संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
संघीय संसद्का ३ सय ३४ मतदातामध्ये मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । चितवन निर्वाचन क्षेत्र २ रिक्त छ । जनता समाजवादी पार्टीका समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् ।
निर्वाचन अधिकृत कार्यालयकी सूचना अधिकारी अमृता भण्डारीले बिहीबार हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिइन् । एउटा मतदान केन्द्रमा ७ कर्मचारी खटिनेछन् । मतदान बिहीबार बिहान १० देखि ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।






















