गृहपृष्ठ पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी पुरा
पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी पुरा
राष्ट्रपति चुनावलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म ठोस आकार लिने नेताहरुले बनाएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच बुधबार साँझ बालुवाटारमा भएको बैठकमा चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको छ।
पुरानो गठबन्धनमा रहेका अरू दलहरूसँग पनि छलफल गरेर बिहीबार साँझसम्ममा औपचारिक सहमति हुने बालुवाटार स्रोतले बतायो।
छलफलमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका मुख्य नेताहरू सहभागी थिए।
दुई दलबीचको बैठकमा प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेटेसँगै एमालेसँगको कुरा सकिएको ब्रिफिङ गरेका थिए। उनले एमालेसँगको सहकार्य लगभग सकिएको र अब कांग्रेस र माओवादीले औपचारिक सहमति गरेर अगाडि बढ्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको झण्डै दुई घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले आपसी विश्वास कायम राख्न पनि १० पुसमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यो दिन प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्न जानुअघि एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । तर आफूले ‘खल्तीको मान्छे’ ल्याउँछ भनेर प्रचार गरिएको भन्दै ओलीले ‘तपाईँले रोजेकै मान्छे ल्याऊँ न त’ भन्दै माधव नेपालको नाम लिएका थिए । तर प्रचण्डले जसपा लगायतका दलहरुसँग छलफल गर्छु भनेपछि ओलीले कांग्रेससँगै जाने निर्णय भए ठीकै छ समेत भनेका थिए ।
प्रचण्डले पछिल्ला दिनमा ओलीसँग भएका कुनै पनि कुराहरू सही ढंगले नबढेको बताउने गरेका छन्। पछिल्लो पटक गत बिहीबार ओलीको निजी निवास बालकोटमा भएको दुई घन्टा लामो छलफलमा पनि ओली एक्लैले पौने दुई घन्टा बोलेको र त्यसमा सहमति र सहकार्यभन्दा पनि धम्कीको भाषा धैरै बोलेको उनले बैठकमा बताए।
एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भेट्नुअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेर यही प्रस्ताव राखेका थिए । देश संकटमा जान लागेकाले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने उनको प्रस्ताव थियो । त्यसो गर्दा संसदको सबभन्दा ठूलो दल बन्ने र सबै प्राप्त गर्न सकिने भन्दै उनले अध्यक्ष नेपाललाई राष्ट्रपति पनि बनाउन सकिने संकेत गरेका छन् ।
ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि कांग्रेस सभापति देउवा भने दबावमा आएका छन् । एमाले–माओवादीको सत्ता गठबन्धन टुटाउने र राष्ट्रपति लिन निरन्तर प्रचण्डसँग सम्वादमा थिए । प्रचण्डले पनि राष्ट्रपतिमा वचन दिएका थिए । तर ओलीले माधव नेपाललाई गरेको प्रस्तावले सत्ता गठबन्धन जोगिने र भत्किएको अवस्थामा पनि राष्ट्रपति फुत्किने नेताहरुको आशंका थियो ।
बालुवाटारमा कांग्रेस र माओवादीबीचको बैठकमा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ुपावर सेयरिङु मा कसरी मिलाएर जाने भन्नेबारे छलफल भएको थियो। नेपाललाई पनि आगामी पाँच वर्षभित्र कुनै निश्चित समयावधिमा प्रधानमन्त्री बनाउनेमा दुवै दलहरू सहमत रहेको बालुवाटार स्रोतले बतायो।
को को कति समयसम्म प्रधानमन्त्री रहने भन्नेबारे प्रचण्ड र देउवाले माधव नेपालसँग छलफल गरेर टुंग्याउने सहमति भएको छ। बुधबार साँझ पनि त्यही छलफलका बीच देउवा र प्रचण्ड केही समय छुट्टै बसेर कुरा गरेका थिए।
प्रकाशित समय : ०७:०९ बजे




















