गृहपृष्ठ एसईईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा
एसईईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा
शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ।
कमजोर विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायब सुब्बा दीपेन्द्र जोशीले बताए । उनका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि पाँच लाख रूपैयाँ परिचालन गरिएको छ ।
‘अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौं’ प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन कार्यमा संलग्न शिक्षकको दैनिक उपस्थिति हाजिरी दुरुस्त राख्न भनेका छौं ।’
अतिरिक्त कक्षाको शिक्षा समिति, शिक्षा शाखा र नगरपालिकाले नियमित अनुगमन गरिरहेका छन् । अतिरिक्त कक्षा सञ्चालन भएपछि एसइईमा सहभागी हुने विद्यार्थीलाई पठनपाठनमा सघाउ पुगेको छ । ‘गरिब परिवारका विद्यार्थीले ट्युसन पढन सक्ने अवस्था हुँदैन,’ शिक्षा समिति सदस्य शेरबहादुर साउदले भने, ‘त्यस्ता विद्यार्थीले अतिरिक्त कक्षामा सहभागी भएर नबुझेका विषयवस्तुसँगै एसईईमा सोधिने प्रश्नबारे शिक्षकलाई सोधेर सामाधान खोज्छन्, यसबाट राम्रो अंक ल्याउन मद्दत पुग्छ ।’
‘एसइई दिने विद्यार्थीलाई अतिरिक्त कक्षामार्फत पढाइ हुन थालेपछि ट्युसन पढने झन्झटबाट विद्यार्थीले छुटकारा पाएका छन् । यसबाट विद्यार्थीले ट्युसन पढनु नपरेको र अभिभाकले ट्युसन पढाउनका लागि खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ,’ उनले भने ।
प्रकाशित समय : १८:५४ बजे

















