गृहपृष्ठ बसपार्कको लुटपाटमा ८ करोडभन्दा बढीको मोबाइल लुटिएको व्यवसायीको दाबी

बसपार्कको लुटपाटमा ८ करोडभन्दा बढीको मोबाइल लुटिएको व्यवसायीको दाबी

बसपार्कको लुटपाटमा ८ करोडभन्दा बढीको मोबाइल लुटिएको व्यवसायीको दाबी

यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।

सोमबार बेलुकी ल्होत्से मलमा एक हुल मानिस प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको बताइएकाे छ । ल्होत्से मलमा मोबाइल पसल सञ्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्षसमेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकत्रित भएका छन् । उनीहरुले आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउने भएका छन् ।

सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले सोमबार साँझ काठमाडौंको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका थिए । सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका मजदुरले ल्हाेत्से मलमा तोडफोड गरेका हुन् ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु