गृहपृष्ठ बालकोटमा के कुरा भयो ओली र महन्थ ठाकुरबीच ?
बालकोटमा के कुरा भयो ओली र महन्थ ठाकुरबीच ?
एमाले अध्यक्ष केपी शर्मा ओलीको कारमा बसेर संसद भवनबाट सिधैं बालकोट निवास पुगेका लोसपा अध्यक्ष महन्थ ठाकुरले झण्डै एक घण्टा लामो छलफल गरेका छन् ।
बालकोट भेटमा ओलीले महन्थ ठाकुरसँग सहयोग मागे । आफुलाई राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न अनुरोध गरेको ठाकुरले बताए । उनले भने, ‘संसदमा सम्बोधनको समयमा उहाँसँग मेरो भेट भयो । उहाँले ‘जाउँ न मेरो घरमा, एक कप चिया सँगै बसेर खाउँ’ भन्नुभयो । मैले पनि हुन्छ, हुन्छ भनें । त्यसपछि उहाँकै गाडीमा हालेर लानुभयो ।’, उनले थपे, ‘बल्कि उहाँले हामीलाई राष्ट्रपतिमा साथ दिनुस् पो भन्नुभयो ।’
ओलीले राष्ट्रपतिमा साथ दिन आग्रह गरेपछि ठाकुरले अस्तिको कुरा सम्झाएको बताए । उनले भने, ‘उहाँले नै आफूले सार्ने उम्मेदवारलाई साथ दिनुहोस् भन्नुभयो । मैले उहाँलाई को व्यक्ति उठाउँदै हुनुहुन्छ राष्ट्रपतिमा भनेर सोधें । उहाँले म राम्रै उम्मेदवार दिन्छु भन्नुभयो । त्यसपछि मैले पनि अस्तिको कुरा निकालें ।’ ठाकुरले थप्दै भने, ‘मैले अस्ति ‘प्रचण्डलाई विश्वासको मत दिनुहोस् भनेर तपाईंले भनेकाले दिएँ’ भनें । त्यसपछि मधेस प्रदेशको सरकारमा दुई–तीन जना मन्त्रीलाई लैजानु छ त्यसको लागि पनि सहयोग चाहियो भनें । उहाँले ठिक छ यसको बारेमा राष्ट्रपतिले बोलाउनु भएको सांस्कृतिक कार्यक्रममा कुरा गरौंला भन्नुभयो ।’
आज ३ बजे राष्ट्रपतिले सबै सांसदलाई बोलाएकी छन् । ओली र ठाकुरबीच त्यसै कार्यक्रमका बेला छुट्टै कुरा गर्ने सहमति भएको छ ।
प्रकाशित समय : ०७:३० बजे


















