गृहपृष्ठ जोखिममा मोबाइल बैंकिङ प्रयोगकर्ता
जोखिममा मोबाइल बैंकिङ प्रयोगकर्ता
गत मंसिर २६ मा ललितपुरको सातदोबाटोमा हरिप्रसाद ढकालको नाममा रहेको एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी भएको घटनाले सबै मोबाइल एप प्रयोगकर्तालाई त्रसित बनाएको छ ।
प्रविधिको विकाससँगै यसको दुरुपयोग गरी ठगी गरेका समाचार पनि समय-समयमा आइरहन्छन् । ह्याकरले विभिन्न प्रलोभनसहितका प्रस्ताव गर्दै सामाजिक सञ्जालमार्फत पठाउने लिंकमा अन्जानमै हुने एकै क्लिकका भरमा व्यक्तिगत मोबाइलमा ह्याकरले सहजै पहुँच स्थापित गर्न सक्छन् । जसले गर्दा व्यक्तिको बैंक खातासम्म अनधिकृत पहुँच स्थापित गरी खातामा भएको रकम सहजै निकाल्न सक्छन् ।
पछिल्लो बढ्दो डिजिटल प्रविधिको प्रयोगसँगै पछिल्लो समय अपराध र चोरी नियन्त्रणमा नयाँ चुनौती थपिएको छ । समय समयमा भइरहने यस्ता घटनाले मोबाइल बैंकिङ प्रयोगकर्तामाथि जोखिम उत्पन्न भएको छ । व्यक्तिको मोबाइल नम्बरका आधारमा सञ्चालन हुने मोबाइल बैंकिङ एपमाथि ह्याकरले विभिन्न उपायको उपयोग गरी सहजै पहुँच जमाउन सक्ने हुँदा बैंक खातामा भएको रकम जुनसुकै बेला हराउनसक्ने अवस्था छ ।
उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार पछिल्लो सात महिनामा महाशाखामा मात्रै आठ सयभन्दा बढी यस्ता ठगीका उजुरी परेका छन् । ;यो हाम्रो महाशाखाको मात्रै तथ्यांक हो, केन्द्रीय ब्यूरो र काठमाडौंमा दर्ता भएका अझ धेरै छन्,’ उनले भने, ‘सामाजिक सञ्जालमार्फत ठगिनेको संख्या पनि उत्तिकै छ ।’
बैंकिङ क्षेत्रमा डिजिटल सुरक्षा यो दशककै जटिल समस्या बनेको उनको भनाइ छ । पाँच वर्षअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सार्वजनिक गरेको एक प्रतिवेदनमा हरेक वर्ष विश्वभरका बैंकले एक खर्ब डलर साइबर हमलामा गुमाउने गरेको उल्लेख गरेको थियो ।
२०७६ भदौ १४ मा चिनियाँ ह्याकरले नेपालका एटीएम ह्याक गरी करिब तीन करोड ५८ लाख रूपैयाँ चोरी गरेका थिए । चोरीका क्रममा नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिएका थिए । सो घटनामा पाँच चिनियाँ नागरिक र एक चिनियाँ मूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्यो ।
उक्त चोरीमा संलग्न भएका नेपाल आएका दुई जना र भारतबाट पैसा निकाल्ने अन्य व्यक्तिहरु अनुसन्धानको घेरामा आउन सकेका छैनन् । तत्कालीन समयमा प्रभु बैंकको खाताबाट दुई करोड ४५ लाख, ग्लोबल आईएमईको खाताबाट ४६ लाख, सनराइज बैंकको खाताबाट २५ लाख, माछापुच्छ्रे बैंकको खाताबाट २१ लाख, एनआइसी एसिया बैंकको खाताबाट १७ लाख र सिटिजन्स बैंकको खाताबाट तीन लाख ४५ हजार निकालिएको थियो ।
पछिल्लो समय भइरहेको बढ्दो क्रममा रहेको डिजिटल ठगी र अपराधबाट बच्नका लागि साइबर सुरक्षासम्बन्धी जनचेतना नै आवश्यक भएको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारको भनाइ छ । ‘दिनानुदिन प्रविधिको विकास र प्रयोग बढ्दै गइरहेको छ, ह्याकरले जतिपनि अपराध र चोरी गरेका छन् । ती सबै सफ्टवेयरमार्फत सर्भरमा पहुँच पुर्याएर गरिएको छ,’ उनले भने, ‘कुनै पनि सफ्टवेयर प्रयोग गर्नुअघि यो कति सुरक्षित छ र उपयुक्त छ, राम्रो र नराम्रो कुरा के छन् भन्ने थाहा पाउनुपर्छ ।’
प्रकाशित समय : १६:३४ बजे



















