‘मिस नेपाल-२०२३’को आवेदन खुला
वि.सं.२०७९ माघ १९ बिहीवार १६:५६
shares

मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । यसका लागि आवेदन चैत १ गतेसम्म दिन सकिने आयोजक हिडन ट्रेजरले जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिन सक्नेछन् । मिस नेपाल-२०२३ को फाइनल जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।
सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी भइरहेकाे आयोजकले जनाएकाे छ । काठमाडौंको अडिसन मार्च १८ मा हुने भएको छ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् ।
गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले फिलिपिन्समा भएको मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन् । जहाँ सरिशाले बेस्ट इको भिडियो (एसिया) जितेकी थिइन् । मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी भएकी थिइन् ।
मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशी मिस वर्ल्ड २०२३ मा सहभागी हुने तयारीमा छन् । मिस वर्ल्ड २०२३ मे मा आयोजना हुनेछ । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विभिन्न प्रशिक्षण लिइरहेकी छन् ।






















