गृहपृष्ठ जातीय विभेद र वर्गीय मुक्ति आन्दोलन
जातीय विभेद र वर्गीय मुक्ति आन्दोलन
नेपालमा वर्ग निर्माणको पहिलो आधार जात व्यवस्था हो । तत्कालीन माओवादी आन्दोलनले पनि जातीय प्रश्न र वर्गीय प्रश्नलाई छुट्याउनै नसकिने संश्लेषण गरेको हो । र, त्यसको औचित्य समाप्त अहिले नै हुने कुरा होइन । दलित वर्ग नेपालको ऐतिहासिक सर्वहारा वर्ग हो । यो पनि नेपाली सर्वहारा क्रान्तिको संश्लेषण हो ।
जबसम्म जातीय अहंकार, जातीय उत्पीडन र जातीय बिभेद रहन्छ, तबसम्म जातीय मुक्ति र अधिकारको कुरा उठ्छ, उठिरहन्छ । ऐतिहासिक रूपमा शासन सत्ताबाट उपेक्षित वर्ग समुदायले आफ्नो मुक्ति र अधिकारको कुरा चर्को रुपमा उठाउँदैमा हामी कम्युनिष्टहरु आत्तिने होइन, अपितु उनीहरुले उठाएको न्यायपूर्ण आन्दोलनलाई नेतृत्व गर्नुपर्छ र वर्गीय आन्दोलनसँग जोडी दिनुपर्छ ।
दलित भनेको जुन–जुन समुदायहरु राजनीतिक रुपमा, सामाजिक रुपमा, धार्मिक सांस्कृतिक रुपमा, आर्थिक रुपमा र मनोवैज्ञानिक रुपमा दलनमा परेका छन् ति समुदायहरुलाई साझा रुपमा सम्बोधन गर्ने शब्द भनेर बुझ्न सकिन्छ । तत्कालीन शासकहरुले कुनै एउटा जातिको पानी अर्को जातिलाई नचल्ने गरि ति समुदायहरुलाई तोडेको थियो भने अहिले त यो दलित शब्दावलीले त एक अर्कामा पानी नचल्ने समुदायहरुलाई एकतावद्ध गरेको छ ।
दमनमा परेका समुदायहरु एउटा शुत्रमा बाधिन्छन् भने त हामी कम्युनिष्टहरुका लागि यो भन्दा असल कुरो के हुनसक्छ ? मलाई लाग्छ यो ‘दलित’ शब्दले सबै किसिमका दलनमा परेका र वहिस्कृत भएका समुदायलाइ एक शुत्रमा बाध्छ । भलै त्यता पनि रुपान्तरण गर्नुपर्ने प्रशस्त मिथकहरु छन् ।
यो दलनको शृंखला जहिलेसम्म कायम रहन्छ, त्यतिबेलासम्म दलनमा पर्नेहरु दलित वा अपहेलित समुदाय नै उनीहरुको क्लस्टरको पहिचान हो । यहाँ दलित शब्ददेखि अत्तालिनुपर्ने अवस्था हामी सच्चा कम्युनिष्टहरुको लागि जरुरी छैन । दलित शब्दावली हटेता पनि उनीहरु माथिको दलन अहिले नै हटिहाल्ने अवस्था पनि तत्काल छैन ।
मैले नेपालको सन्दर्भमा वर्ग निर्माणको पहिलो आधार जात व्यवस्था भनेको छु । त्यति मात्रै होइन दास कमारो कमारी हुँदै अछुत बनाइएका दलितहरु सबैभन्दा पिँधमा परेका समुदायहरु भएकाले उनीहरु जन्मजात मजदुर सर्वहारा हुन् । जोसँग कमाउन र गुमाउनका लागि हातखुट्टाबाहेक अरु केही हुदैन ति सर्वहारा हुन् । नेपालको सन्दर्भमा सबैभन्दा बढी सर्वहारा समुदाय दलित समुदायमा भेटिन्छ । यो समुदाय अहिले पनि पानी नचल्ने समुदायको रुपमा यथावत छ ।
आर्थिक रुपले विपन्न मात्र होइन न्याय नपाएका, जातीय उत्पीडनमा परेका, समाज र राज्यबाट बहिस्कृत भएका समुदाय ९क्लस्टर० नै ऐतिहासिक सर्वहारा वर्ग हुन् नेपालको सन्दर्भमा । दलितभित्र भएका सर्वहारा वर्ग र अन्य समुदायमा रहेका सर्वहारा वर्ग आर्थिक रुपले एउटै भए पनि सामाजिक, सांस्कृतिक, राजनैतिक र मनोवैज्ञानिक हिसाबले नितान्त फरक छन् । दलित सर्वहाराहरुको समस्या पानी नचल्नेदेखि मान्छेकै गणना भित्र पर्न नसक्नु हो भने अन्य समुदायमा रहेका सर्वहाराहरुको समस्या नितान्त आर्थिक हो ।
ऐतिहासिक भौतिकवादले इतिहासको भौतिकवादी निस्कर्ष निकाल्ने र सोही अनुसारको प्रयोग गर्ने शुत्र प्रदान गर्छ । नेपालको सन्दर्भमा जातीय मुक्ति बिना वर्गीय मुक्ति सम्भव छैन अनि वर्गीय मुक्ति र आन्दोलन बिना पनि जातीय मुक्ति सम्भव छैन । वर्गीय आन्दोलन सफल पार्न जातीय मुक्तिको कार्ययोजना सँगसँगै लैजानुपर्छ ।
अनिमात्र वर्गीय आन्दोलन सफल हुन्छ । जातीय मुक्तिको सवाल नजरअन्दाज गरिए वर्ग आन्दोलन नै सफल हुन्न । साथै वर्गीय आन्दोलन बिना साँचो अर्थमा जातीय मुक्ति सम्भव नै छैन । त्यतिमात्रै होइन नेपालको ऐतिहासिक विकासको चरणमा उपेक्षित समुदायहरु वर्ग, क्षेत्र, जाति, लिङ्गहरुको पनि ऐतिहासिक ढंगले विश्लेषण गर्दै उनीहरुलाई समेत उचित ढंगले व्यवस्थापन गरी अगाडी ल्याएर मात्र समानहरुको बीचमा प्रतिस्पर्धात्मक राजनीतिको अभ्यास द्वारा समाजवादउन्मुख राज्य व्यवस्था स्थापना गर्न सकिन्छ र टिकाउन समेत सकिन्छ भन्ने मेरो मत हो ।
प्रकाशित समय : २३:१७ बजे




















