global ime bank Long Banner Ad

गृहपृष्ठ ४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा

४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा

४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस’ मनाइन्छ । यस दिवसले लागूपदार्थको दुरुपयोग, अवैध ओसारपसार तथा त्यसबाट सिर्जित सामाजिक, आर्थिक र स्वास्थ्यजन्य समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्य राख्छ ।

कुराकानीमा लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाका अभियन्ता ऋषि ओझाले नेपालमा लागूपदार्थको बढ्दो प्रयोग, रोकथामका चुनौती, कानुनी सुधारको आवश्यकता तथा पुनःस्थापनाका उपायबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

‘जस्ट से नो टु ड्रग’ अभियानका अगुवा

ओझाले आफू विगत पाँच दशकदेखि लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाको क्षेत्रमा सक्रिय रहेको बताए । उनले जापानस्थित विभिन्न शैक्षिक संस्थाबाट लागू पदार्थ तथा मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गरी नेपालमा यस विषयमा औपचारिक रूपमा डिप्लोमा हासिल गर्ने पहिलो व्यक्तिमध्ये एक भएको उल्लेख गरे ।

उनले भने, ‘ म करिब ५० वर्षदेखि लागूपदार्थ र मादक पदार्थ प्रतिकारत्मक शिक्षामा काम गरिरहेको छु । लागूपदार्थ तथा मादक पदार्थ सम्बन्धी टोकियोको जेके युनिभर्सिटी र टोकियो मेट्रोपोलिटन साइक्याट्री रिसर्च इन्स्टिच्युटबाट डिप्लोमा गरेको हुँ । तत्कालिक अवस्थामा यसमा विषयगत डिप्लोमा गर्ने व्यक्ति म नेपालमा पहिलो भएर आएको थिएँ ।’

उनले नेतृत्व गरेको ‘जस्ट से नो टु ड्रग’ अभियान नेपालमा करिब ४० वर्षअघि सुरु भएको थियो । अहिले उक्त अभियानलाई नेपाली भाषामा ‘लागू पदार्थलाई नाइँ भनौँ’ भन्ने सन्देशसहित अघि बढाइएको छ ।

उनका अनुसार अब केवल नारामा सीमित नभई व्यवहार परिवर्तन, परिवार, विद्यालय, समुदाय र राज्यका निकायलाई समेटेर एकीकृत रूपमा लागू पदार्थविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक छ ।

बदलिँदो स्वरूप, बढ्दो चुनौती

ओझाका अनुसार विगतमा हेरोइन, ब्राउन सुगर र ह्वाइट सुगरजस्ता लागू पदार्थको प्रयोग बढी हुने गथ्र्यो, जसका असर छिट्टै देखिन्थे । तर अहिले साइकोट्रोपिक (मानसिक प्रभाव पार्ने) औषधिहरूको प्रयोग बढेको छ, जसका लक्षण क्रमशः देखिने भएकाले समस्या पहिचान गर्न कठिन भइरहेको छ ।

उनले जनसंख्या वृद्धि, बेरोजगारी, सामाजिक दबाब तथा फुर्सदिलो समयको सदुपयोग हुन नसक्दा किशोरकिशोरी र युवामा लागू पदार्थ प्रयोगको जोखिम बढिरहेको बताए ।

उनले भने, ‘ पहिले र अहिलेको स्थिति फरक छ । पहिला ब्राउन सुगर अनि ह्वाइट सुगर, हेरोइनहरु डाइरेक्ट प्रयोग हुन्थ्यो । चाँडै लागूपदार्थका प्रयोगकर्ताहरुको लक्षणहरु देखा पर्थे । अहिले साइकोट्रपिक ड्रगहरु धेरै प्रयोग हुन थालेको छ । त्यो साइकोट्रपिक ड्रगहरु प्रयोग गर्दा लक्षणहरु बिस्तारै मात्रै देखिन्छ । एक्कासी देखिँदैन । त्यसैले हिजोको अवस्था भन्दा अहिले बदलिएको छ । देशमा जनसंख्या र बेरोजगारीको संख्या बढेको छ । त्यसैले पहिलेभन्दा अदृश्य रुपमा किशोर–किशोरी र युवामा लागू पदार्थको बढ्दो छ ।’

उनले युवालाई शिक्षा, सीप विकास र खेलकुदजस्ता सकारात्मक गतिविधिमा संलग्न गराउन सके लागू पदार्थको प्रयोग स्वतः घट्ने बताए ।

उनले भने, ‘युवालाई इन्गेज गराउन सकेका छैनांै, बाँकी रहेको समयमा उसलाई खेलकुद वा अन्य गतिविधितिर इन्भल्भ गराउनुपर्छ । त्यसका कारण लागूपदार्थ प्रयोग गर्दैन ।’

खुला सीमा र तस्करीको जोखिम

नेपालमा लागूपदार्थ उत्पादन नहुने भएपनि खुला सीमा नाकाका कारण भारतबाट विभिन्न लागू पदार्थ भित्रिने गरेको ओझाको भनाइ छ । उनका अनुसार नेपाल प्रहरीले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित निगरानी तथा कारबाही गरिरहेको भएपनि खुला सीमाका कारण चुनौती कायमै छ ।

‘लागू पदार्थको समस्या केवल नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो । तर हाम्रो भौगोलिक अवस्था र खुला सीमाले यसलाई अझ जटिल बनाएको छ,’ उनले भने ।

कानुनी सुधारको आवश्यकता

ओझाले लागूऔषध नियन्त्रणसम्बन्धी कानुन समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार वर्तमान कानुन करिब चार दशकअघिको हो । अहिलेको परिस्थितिअनुसार परिमार्जन आवश्यक छ ।

उनले लागूपदार्थ सेवनकर्तालाई अपराधीभन्दा पनि उपचार आवश्यक पर्ने व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे । यद्यपि, लागूपदार्थको अवैध कारोबार र तस्करीमा संलग्न व्यक्तिमाथि भने कडा कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ ।

‘हाम्रो लागूऔषध नियन्त्रणसम्बन्धी ऐन करिब ४०–४५ वर्षअघिको सन्दर्भमा बनेको हो । अहिलेको सामाजिक अवस्था, लागूपदार्थको स्वरूप र चुनौतीहरू परिवर्तन भइसकेका छन् । त्यसैले ऐनलाई समयानुकूल संशोधन गर्न आवश्यक छ । लागूपदार्थ सेवन गर्ने व्यक्तिलाई केवल अपराधीका रूपमा होइन, उपचार र पुनःस्थापना आवश्यक पर्ने बिरामीका रूपमा हेर्नुपर्छ । उनीहरूलाई उपचार, परामर्श र पुनःस्थापनाको अवसर प्रदान गरिनुपर्छ । तर लागूपदार्थको अवैध कारोबार, ओसारपसार र तस्करीमा संलग्न व्यक्तिहरूमाथि भने अझ कडा कानुनी कारबाहीको व्यवस्था हुनुपर्छ । कानुन, उपचार र पुनःस्थापनालाई सन्तुलित रूपमा अगाडि बढाउन सके मात्र लागू पदार्थ नियन्त्रण प्रभावकारी हुन सक्छ ।’

सेवनकर्तालाई उपचार र पुनःस्थापनामा केन्द्रित गर्नुपर्ने तथा तस्करमाथि कडा सजायको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।

पुनःस्थापनाको अभाव

नेपालमा सञ्चालन भइरहेका अधिकांश उपचार तथा पुनःस्थापना केन्द्रहरूमा प्रारम्भिक उपचार र डिटक्सिफिकेसनमा बढी ध्यान दिइने भए पनि दीर्घकालीन सामाजिक पुनःएकीकरणका कार्यक्रम पर्याप्त नभएको ओझाको भनाइ छ ।

उनका अनुसार उपचारपछि व्यक्तिलाई सीपमूलक तालिम, रोजगारी तथा सामाजिक पुनःस्थापनासँग जोड्न नसक्दा पुनः लागूपदार्थ प्रयोगमा फर्किने समस्या देखिएको छ ।

‘उपचारपछि समाज र परिवारको सकारात्मक साथ आवश्यक हुन्छ । समाजले ‘लागूपदार्थ प्रयोगकर्ता’ भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्न सके मात्रै पुनःस्थापना सफल हुन सक्छ,’ उनले भने ।

परिवार र विद्यालयको भूमिका महत्त्वपूर्ण

ओझाले लागूपदार्थ नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले अभिभावकले आफ्ना सन्तानको दैनिक गतिविधि, साथीभाइको संगत, अध्ययन अवस्था तथा व्यवहारमा आएको परिवर्तनबारे नियमित निगरानी गर्नुपर्ने बताए ।

त्यस्तै शिक्षकहरूलाई पनि विद्यार्थीको व्यवहारिक परिवर्तन पहिचान गर्ने तालिम आवश्यक रहेको उनको धारणा छ ।

‘साथीभाइको दबाब, सामाजिक सञ्जालको प्रभाव र फुर्सदिलो समयको गलत प्रयोगले धेरै युवा लागूपदार्थतर्फ आकर्षित भइरहेका छन्, लागूपदार्थ नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण छ । अभिभावकले आफ्ना सन्तानको दैनिक गतिविधि, साथीभाइको संगत, अध्ययन अवस्था तथा व्यवहारमा आएको परिवर्तनबारे नियमित निगरानी गर्नुपर्छ,’ उनले भने ।

जनचेतना र व्यवहारिक शिक्षा आवश्यक

ओझाले लागूपदार्थ सेवन नगर्नू भन्ने सन्देश मात्र पर्याप्त नभएको बताए । उनका अनुसार लागूपदार्थ सेवन गर्दा शारीरिक, मानसिक, बौद्धिक, पारिवारिक, सामाजिक तथा आर्थिक रूपमा पर्ने असरबारे व्यवहारिक शिक्षा दिन आवश्यक छ ।

उनले कानुनी साक्षरताको महत्वसमेत औँल्याउँदै युवाहरूलाई लागूपदार्थ सेवन र कारोबारका कानुनी परिणामबारे जानकारी गराउनुपर्ने बताए ।

उनले भने, ‘लागूपदार्थ नखाऊ भन्ने सन्देश मात्र दिएर पुग्दैन । युवाहरूलाई लागूपदार्थ सेवन गर्दा शरीर, मानसिक स्वास्थ्य, बौद्धिक क्षमता, परिवार, समाज र आर्थिक अवस्थामाथि कस्तो असर पर्छ भन्ने विषयमा व्यवहारिक र तथ्यमा आधारित शिक्षा दिन आवश्यक छ । साथै, लागूपदार्थ सेवन वा यसको कारोबारमा संलग्न हुँदा कानुनी रूपमा के–कस्ता परिणाम भोग्नुपर्छ भन्ने जानकारी पनि युवाहरूलाई दिनुपर्छ । जब उनीहरूले यसको स्वास्थ्य, सामाजिक र कानुनी प्रभावबारे स्पष्ट रूपमा बुझ्छन्, तब मात्र लागूपदार्थबाट टाढा रहने चेतना र जिम्मेवारी विकास हुन्छ ।’

लागूपदार्थमुक्त समाज निर्माणको आह्वान

ओझाले लागूपदार्थमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय तह, विद्यालय, अभिभावक, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

‘लागूपदार्थ सेवन नगर्ने, स्वस्थ जीवनशैली अपनाउने र सकारात्मक गतिविधिमा सहभागी हुने संस्कार विकास गर्न सके मात्र हामी लागूपदार्थमुक्त समाजतर्फ अघि बढ्न सक्छौँ,’ उनले भने ।

उनले नीति निर्माणदेखि समुदायस्तरसम्म समन्वित प्रयास भए मात्र स्वस्थ, सक्षम र जिम्मेवार युवा पुस्ता निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु