global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र नहुँदा यात्रु र स्थानीयलाई आवागमनमा सास्ती हुने गरेको छ । सडक कालोपत्रका लागि ११ वर्ष अगाडि ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको हो ।

बाह्र किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रका लागि २०७२ साल  माघ १० गते एमपीरएससिएफरइसिसी जेभीले दुई वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका थियो । नौ वर्ष बितिसक्दा पनि काम पूरा नगरेपछि लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोडेर २०८१ साल असार २१ गते दुई वर्षभित्र आयोजना पूरा गर्नेगरी नयाँ ठेक्का लगाएको थियो ।

पुनः ठेक्का लगाइएको सम्झौताको म्याद सकिनै लाग्दा पनि कामले गति लिनसकेको छैन । तामाङररजिलरभगवती जेभीले जिम्मा पाएको उक्त खण्डको काम हालसम्म ५२ प्रतिशतमात्रै सकिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख अनुक्षा घिमिरेले यस खण्डमा फराकिलो, नाली निर्माण, ग्याबियन पर्खाल लगाउनेलगायत काम सकिएको बताए । उनका अनुसार अब कालोपत्र गर्नमात्रै बाँकी छ । निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण समयमा काम नसकिने अवस्था देखिएको उनले बताए।

प्रमुख घिमिरेले भने, “यसपालि यो खण्डको काम सकिन्छ भन्ने लागेको थियो, तर विभिन्न कारणले गर्दा अझै सकिने अवस्था रहेन । निर्माण सामग्रीको अभाव, मूल्यवृद्धिलगायत कारणले असार मसान्तसम्म काम सकिने सम्भावना छैन, तर संरचनात्मक (स्ट्रक्चर)को काम करिब सबै सकिएको छ, पहिलेको तुलनामा धेरै काम भएको छ ।”

यस खण्डको केही सडक अघिल्लो निर्माण कम्पनीले कालोपत्र गरेको थियो । उक्त कालोपत्र उप्किएर अहिले सडक थप जोखिमयुक्त बनेको स्थानीय कुलराज कँडेलले बताए । लोकमार्गअन्तर्गत बागलुङको विकट क्षेत्रमा कालोपत्र भइसक्दा बिहुँ खण्ड भने ठेकेदारको लापरबाहीले अहिलेसम्म हिलाम्मे र धुलाम्मे रहेको उनको भनाइ छ ।

निर्माण कम्पनीले चासो दिएर काम नगर्दा हजारौँ यात्रु र स्थानीयले समस्या भोग्नुपरेको कँडेलले गुनासो गरे । “यो सडकमा दैनिक सयौँ गाडीमा हजारौँ यात्रुले यात्रा गर्छन्, हिलो र धुलोले गर्दा सबैले समस्या भोग्नुपरेको छ”, उनले भने, “साथै लोकमार्ग आसपासका स्थानीयलाई धुलो र धुवाँले थप सास्ती भएको छ । हिउँदभरि धुलो उडेर बारीभरि भएका फलफूल र सब्जीलाई ढाक्छ, बर्खामा हिलोले सबै पुरिन्छ, यो समस्याले गर्दा गाउँमा बस्न सकिने अवस्था छैन ।”

काठेखोला गाउँपालिका -५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले वर्षौँदेखि यहाँका नागरिकले सडक समयमा सक्नका लागि दबाब दिँदै आए पनि अहिलेसम्म सम्पन्न हुन नसकेको बताए । हिलाम्मे र धुलाम्मे सडकका कारण स्थानीय बिरामी पर्ने गरेको भन्दै कतिपय बसाइँसराइ गर्न बाध्य भएका उल्लेख गरे ।

वडाध्यक्ष कँडेलले भने, “हिउँद लाग्यो भने सडक आसपासका स्थानीयलाई बिरामी पर्ने जोखिम हुन्छ, सडकको धूलो उडेर घरभित्रै आउँछ । धुलोका कारण बिरामी हुने पनि धेरै छन्, पहिलेको ठेकेदार काम गरेन भनेर अर्कोलाई जिम्मा दिए, अहिले पनि म्याद सकिन धेरै समय छैन तर कामले भने गति लिएको छैन ।”

लोकमार्गको एक हजार ८७९ किलोमिटरमध्ये बागलुङ खण्डमा १४० किलोमिटर पर्दछ । लोकमार्गको तल्लो खण्ड उपल्लाचौरबाट अक्षेते-बिहुँ खण्ड २०७३ साल माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । पाँच पटकसम्म म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि गत पुसमा यस खण्डको पनि ठेक्का तोडिएको छ ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु