गृहपृष्ठ एक महिनादेखि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प
एक महिनादेखि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प
खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर)देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ ।
४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
गत जेठ दुई गते विमानस्थल उद्घाटन भएसँगै कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । मौसमको कारण देखाउँदै गत २१ डिसेम्बरदेखि जजिराले आफ्नो उडान रोकेको छ ।
कात्तिक १७ देखि चार्टर्ड उडान सुरु गरेको हिमालय एयरलाइन्सले पनि १६ डिसेम्बरदेखि उडान रोकेको छ ।
निजी क्षेत्रका एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि रुपन्देहीका निजी क्षेत्रका अगुवा संस्थाहरुले राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न माग गरेका छन् ।
निजी क्षेत्रका विमानले उडान बन्द गरे पनि सरकारी स्वामित्वको विमानले उडान भरेर विमानस्थलको शाख जोगाउनुपर्ने व्यवसायीको माग छ ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्म न्यौपानेले सरकारी बेवास्ताले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द हुन पुगेको बताए । ‘यो विमानस्थलमा जनताले तिरेको करको ठूलो हिस्सा लगानी भएको छ, तर सञ्चालनमा आएको केही महिनामै मौसमलाई कारण देखाएर अन्तर्राष्ट्रिय उडान झण्डै डेढ महिनासम्म बन्द हुनु सरकारको लाचारीपन हो,’ न्यौपानेले भने, ‘विदेशी एयरलाइन्सले बन्द गरेपनि राष्ट्र र विमानस्थलको शाख जोगाउन नेपाल एयरलाइन्सले उडान नियमित गर्नुपर्दथ्यो, त्यो नहुनु दुःखद् छ ।’
प्रकाशित समय : १०:४२ बजे



















