उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित
वि.सं.२०७९ माघ ७ शनिवार १७:३७
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।
शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा ९७ मत प्राप्त भयाे । २७५ सदस्यीय प्रतिनिधिसभाका २६४ जना मतदानमा सहभागी भएका थिए । ‘मत दिन्न’ भन्ने पक्षमा एक मत रह्याे ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी राना रास्वपाकी समानुपातिक सांसद हुन् । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । पहिलो प्रस्तावमै राना उपसभामुखमा निर्वाचित भएपछि यादवको प्रस्ताव भने निर्णयार्थ पेश भएन ।
























