गृहपृष्ठ अवैध रुपमा माटो उत्खनन्, जनप्रतिनिधिकै मिलेमतो
अवैध रुपमा माटो उत्खनन्, जनप्रतिनिधिकै मिलेमतो
दुई ट्रक, एक डोजर प्रहरीको नियन्त्रणमा
जनप्रतिनिधिसँगको मिलेमतोमा अवैध रुपमा माटो उत्खनन् गर्ने दुई ट्रक र एक डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गोलबजार नगरपालिका–७ चोहर्वास्थित सामुदायिक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजिकैबाट अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा१क ७३२९ नम्बरको डोजर र ना२क ९ नम्बरको ट्रक र ज१क ४९४ नम्वरको अर्को डोजर नियन्त्रणमा लिएको हो ।
माटो उत्खननका कारण विद्यालय जोखिममा परेको स्थानीयको भनाइ छ । सानो खोल्साको डिलमा रहेको विद्यालय नजिकबाट जथाभावी माटो निकाल्दा विद्यालयमा पहिरो जाने अवस्थामा पुगेको स्थानीय युवाको भनाइ छ ।
नगरकै योजनाको काममा प्रयोग भइरहेको माटो अवैध रुपमा उत्खनन् हुँदा पालिकाको दोहोरो करछली भएको स्थानीय युवा बताउँछन् । यसरी दर्ता नभएको खानी वा जमिनबाट माटो खरिद गर्दा राजश्व छली हुन्छ नै । सँगै उपभोक्ताले सस्तोमा किनेर महंगोको विल हाल्न पाउने सुविधा पनि रहन्छ।
वडाअध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्बरी जमिनबाट माटो ल्याएको बताए । उनले भने, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्बरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन्, नजिकै भेटेकाले ल्याएछ ।’
नगरपालिकाको श्रममुलक कार्यक्रम निर्माण कार्य (एलआईपी) कार्यक्रमअन्तर्गत गोलबजार– ७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङका लागि २० लाख रकम छुट्याएको छ।
प्रकाशित समय : १३:३२ बजे



















