देउवा परिवारका दिन सकिए
देउवा अब आफ्नो राजनीतिक पतनको दिन गन्दै बस्नेछन्
वि.सं.२०७९ पुस ११ सोमवार १५:४४
shares

गल्तीपछि तीन चिज महत्वपूर्ण हुन्छन्, गल्तीलाई स्वीकार गर्नु, पाठ सिक्नु र नदोहोर्याउनु । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हकमा यी कुनै कुरा लागु हुँदैनन् ।
न देउवाले स्वीकार गर्नेछन्, न पाठ सिक्नेछन् न दोहोर्याउने नै छन् । डडेलधुरादेखि बालुवाटारसम्मको भएको राजनीतिक विरासतलाई ‘सत्ता लिप्सामा रमाउने थ्यौरी र धर्मपत्नीको काउन्सिल’ले बुढानिलकण्ठको चिसोतातोसँग चित्त बुझाउनुको विकल्प रहेन ।
०००
आइतबार देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गरेको वचन तोडेर यस्तै गल्ती गरे । जसले देउवाको ज्योतिष विद्या मात्रै फेल भएन, बाँकी जाँच नदिनेगरि देउवालाई नै फेल बनाइदियो ।
गत मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा कांग्रेस ठूलो दल बनेर संसद्मा प्रवेश गर्यो । सबैलाई आशा र विश्वास थियो कि कांग्रेसकै नेतृत्वमा आगामी सरकार बन्छ ।
तर देउवाको सत्ता लिप्सामा रमाउने, ‘राजनीतिक आदत’ले पाँच घण्टामै नेपाली कांग्रेसलाई प्रतिपक्षमा पुर्याएको छ । अब देउवा प्रतिपक्षमा मात्रै छैनन् कांग्रेसभित्रै एक्लिएका पनि छन् ।
१३ औँ महाधिवेनसम्म कांग्रेसमा देउवाको दलबल उस्तै थियो । दबदबा उस्तै थियो । देउवाको साथमा १० भाइ समेत थिए । तर १४ औँ महाधिवेनको अन्तिम घटीमा पुग्दा कांग्रेसले बदलिने संकेत गर्यो र भन्यो, ‘देउवाको कप्तानीमा कांग्रेसले खेल खेल्न सक्दैँन ।’
रपनि, देउवाको सत्तामाथि चढ्ने दाउपेचले त्यसलाई सफल हुन दिएन । हदसम्म नेतृत्व फेरिए पनि त्यतिबेला लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमानलाई हातमा लिएर देउवा, जबरर्जस्ती कांग्रेसको कप्तान भए ।
तर, त्यसयता चुनावअघिसम्म देउवाको रजगज भने उस्तै रह्यो । जसको सिकारमा मिनेन्द्र रिसालदेखि स्वर्णीम वाग्लेसम्म परे । त्यहीँ रजगजको अन्त्य गर्न, कांग्रेसलाई बलियो बनाउन, इतिहासमा असफल साबित सभापति र प्रधानमन्त्रीलाई विश्रामको आग्रह गर्न महामन्त्री गगन थापा मैदानमा आउँदा, कांग्रेसभित्र परिवर्तनका पक्षधरहरु जुट्दा त्यसदिनबाट एक्लिए देउवा ।
विश्वप्रकाश शर्मादेखि शेखर कोइरालादेखि गगन इतरका प्रदीप पौडेलसम्म संसदीय दलको नेतृत्व फर्ने हिसाबले देउवाविरुद्ध उत्रिएका थिए ।
नगददेखि मन्त्रीको आश्वासन दिएर सांसदलाई आफ्नो पोल्टामा पार्न देउवा सफल भए । महामन्त्री थापालाई संसदीय दलको नेतामा पराजित पारे पनि सत्ता आफ्नो पोल्टामा पार्न असफल भए । र, संसद्मा ठूलो दल बनेको कांग्रेसलाई प्रतिपक्षमा देउवाले नै पुर्याए ।
अब कांग्रेसको आगामी नेतृत्वमा देउवाको उपस्थिती त हुँदैन नै, उनका पछि दौडिरहेकाहरुको राजनीतिक भविष्य पनि संकटमा परेको छ । अर्को निर्वाचन र १५औँ महाधिवेशनमा देउवालाई गणेश मानेर परिक्रमा गर्ने केही कांग्रेस नेताहरुबाहेक देउवासँग कुनै शक्ति रहने छैन ।
कांग्रेसभित्र अब देउवाका धेरै दिन छैनन् । विवादित पत्नी आरजु र छोरा जयवीरसिंहलाई पनि कांग्रेस राजनीतिमा स्थापित हुन सहज छैन । आखिर देउवालाई यही सत्ता लिप्साले डुबायो ।

























