global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड हो’

‘डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड हो’

‘डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड हो’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड भएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गर्दै गभर्नर अधिकारीले पछिल्लो समय विद्युतीय कारोबार बढ्दै गएको बताए । ‘क्यूआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैंमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौं,’ उनले भने ।

डिजिटल कारोबारलाई ‘पारदर्शिताको मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राखे । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहनसमेत उनले सबैलाई आग्रह गरे ।

सो अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारे । साथै नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा समेत उनले जानकारी दिए ।

गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायत विविध पक्षबारे जानकारी दिए ।

विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ ।

गभर्नर अधिकारीले आजै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र, दार्चुलाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गरेका थिए । यस क्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए ।

उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उनले दार्चुला जिल्लाको उद्यम/व्यवसाय, भारु कारोबार र बैंक तथा वित्तीय संस्थाको सेवाबारे जिज्ञासा राखेका थिए ।

कृषि ज्ञान केन्द्रका प्रतिनिधिसँगको छलफलमा गभर्नर अधिकारीले दार्चुला जिल्लामा व्यावसायिक कृषिको विद्यमान अवस्था, सम्भावना, कृषि कर्जा तथा ब्याज अनुदान र कृषि क्षेत्र प्रवद्र्धनका भावी सम्भावनाका विषयमा जानकारी लिएका थिए ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु