global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चार्ल्स शोभराज को हुन् ? कसरी छन् २० बर्षदेखि नेपाली जेलमा ?

चार्ल्स शोभराज को हुन् ? कसरी छन् २० बर्षदेखि नेपाली जेलमा ?

चार्ल्स शोभराज को हुन् ? कसरी छन् २० बर्षदेखि नेपाली जेलमा ?

सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो ।

‘थुनामा बसेका कैदीबाट आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ’ भनी निवेदन पेश गरेको आधारमा निवेदनको माग जायज ठहर्‍याएर थुनामुक्त गर्नु भनी इजलासले आदेश जारी गरेको हो ।

शोभराजले आफ्ना कानुन व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटको सुविधा दिन पनि माग गरेका थिए । अहिले चार्ल्स ७० काटिसकेका छन् । उनी फ्रेन्च नागरिक हुन् ।

इजलासले १५ दिनभित्र उनलाई आफ्नो देश फर्कने व्यवस्था मिलाउन पनि सरकारको नाममा आदेश दिएको छ ।

शोभराजमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेको थियो । भक्तपुर जिल्ला अदालतले शोभराजलाई ती दुई विदेशीको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो । जसलाई सर्वोच्च अदालतले २०६७ साउन १४ मा सदर गरेको थियो । २०६० सालमा नेपाल आएका बखत शोभराज २८ वर्ष पहिलेको हत्या अभियोगमा पक्राउ परेका थिए । २०६० असोज २ मा पक्राउ परेका शोभराजविरुद्ध त्यसपछि मात्रै पुराना मुद्दा ब्युँताएर फैसला गरिएको थियो । त्यसयता उनी आजभन्दा झण्डै २० बर्षदेखि नेपाली जेलमा छन् ।

उनलाई भएको जन्मकैद अनुसार २०८० असोज १ सम्म उनी थुनामा बस्नुपर्ने थियो । हाल ७८ वर्ष पुगेका शोभराजले आफूले पनि जेष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाउनुपर्ने माग गर्दै आएका थिए ।

कारागार नियमावली, २०२० ले ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।

त्यस्तो सुविधा विदेशी नागरिकले समेत पाउने व्याख्या गर्दै सर्वोच्च अदालतले अहिले १९ वर्ष (९५ प्रतिशत) कैद भुक्तान गरिसकेका शोभराजलाई पनि थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रकाशित समय : ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु