गृहपृष्ठ गगनको गगनचुम्ने छलाङ
गगनको गगनचुम्ने छलाङ
नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले चुनाव हारे । कुल ८९ मध्ये सभापति शेरबहादुर देउवाको पक्षमा ६४ सांसदले मत दिए भने महामन्त्री थापाको पक्षमा मात्र २५ सांसद उभिए । यो ३९ मतान्तरको फरक हो । थापाले पाएको मतभन्दा मतान्तर धेरै छ । यसर्थ थापाको यो फराकिलो हार हो । तर उनले राजनैतिक रुपमा बाजी मारेका छन् ।
शेखरलाई गुटको नेता खोसिने डर र गगनलाई मत माग्दा गरेको वाचा तोडिने डर, डरैडरका बीचमा शेखर–गगन समूहभित्र मंगलबार बिहानसम्म पनि सहमति जुटेको थिएन । तर १४ औं महाधिवेशनमा स्थापित गुटलाई बरकरार राख्नकै लागि भएपनि यो समूहभित्र सहमति जुट्यो र संसदीय दलको नेतामा गगन थापा भिड्ने सहमति भएको थियो । बुधबार बिहान भएको निर्वाचनमा पहिलो पुस्ताका पार्टी सभापति शेरबहादुर देउवा र तेस्रोपुस्ताका महामन्त्री गगनकुमार थापाबीच रोचक प्रतिस्पर्धा भयो । जित्नेले भावी सरकारको नेतृत्व गर्ने अवसर पायो । हार्ने पार्टीभित्रको प्रतिपक्ष कित्तामा पुग्यो । हार्दा सभापति देउवाले सत्ताको सबथोक गुमाउने थिए । त्योभन्दा धेरै ज्योतिषीले सातौंपटक प्रधानमन्त्री बन्न देखाएको सपना गुमाउने थिए । तर महामन्त्री थापाले जित्दा सबथोक पाउने थिए भने हार्दा पनि राजनीतिक जित हासिल गरे । अब हार्दा पनि कसरी जित ? प्रश्न आउँला ।
प्रश्न आउनुअघि नै जवाफ दिऊँ, ‘थापाले देउवापछिको प्रधानमन्त्री बन्ने राजनीतिक लडाइँ पनि अब आफ्नै पक्षमा दर्ता गराएका छन् । र, गगन उदयको ‘बागीशैली’ पनि स्थापित भएको छ ।’
बागी कुन अर्थमा ? यसर्थमा कि, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई सम्भवतः पार्टीले ‘लैजा’ भनेर केही दिएको छैन । उनले जति पाए, सबै बागी र विद्रोही स्वभावका कारण पाए । २०५१ पछि विद्यार्थी राजनीतिमा हात हालेका थापाले त्रिचन्द्र क्याम्पसको स्ववियु सचिव पनि बागी उम्मेदवार बनेर जितेका थिए । त्यसैलाई पहिलो जित बनाएर राजनीतिमा अघि बढेका उनी त्यही शैलीमा स्ववियु सभापति हुँदै नेविसंघको महामन्त्रीसम्म बने । उनको तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग पनि निकै टसल रह्यो । जब पार्टीको नीतिलाई नाघेर आमजनको लय समातेका थापाले राजसंस्थाविरुद्ध ०६२/६३ मा गणतन्त्रका लागि ढुंगा हान्न थाले, उनको उदयलाई आम जनताले स्वीकारे । राजनीतिक रुपमा त्यहीबाट छलाङ मारेका थापाले राजालाई लल्कार्दै बोलेका अभिव्यक्ति अहिले पनि चर्चित छन् ।
उनको प्रखर वक्तृत्वप्रतिको लोकप्रियताले झनै चर्चा पायो । आन्दोलनको मियो बन्ने गरि उदाएका थापा २०६४ को निर्वाचनमै चुनाव लड्न चाहन्थे । तर त्यसका लागि पाँच बर्ष कुर्न पर्यो । तथापी पहिलो संविधानसभामै समानुपातिक प्रणालीबाट संसद छिरेका उनी दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित बने । पहिलोपटक निर्वाचित बनेर स्वास्थ्यमन्त्री बन्दा थापालाई सफल मन्त्रीका रुपमा समेत हेरियाे । तर पार्टीको उपल्लो नेतृत्वसँग टक्कर लिने क्रम आज पर्यन्त जारी छ ।
कांग्रेसको १३ औं महाधिवेशनमै महामन्त्री बनेर बागीबाट व्यवस्थापक बन्ने उनको चाहना पूरा हुन सकेन । साढे पाँच वर्ष नचाहेरै उनी पार्टीभित्रको प्रतिपक्ष कित्तामा बस्नुपर्यो । बीपीपुत्र शशांक कोइरालासँग हार्दा पनि उपलब्धी नै हासिल गरेका उनले त्यही बलमा ७४ को आमनिर्वाचन पनि लोकप्रिय मतका साथ जिते । संसदमा उनको भूमिका निरीह बनेको कांग्रेसलाई ज्यूँदोजाग्दो बनाउन सफल रह्यो । प्रतिफल स्वरुप १४ औं महाधिवेशनमा आएर कांग्रेस बदल्ने उनको संकल्प अनुमोदन भयो ।
जबकि उनकै समूहबाट भिडेका शेखरले सभापतिमा हार्दैगर्दा थापाले अत्याधिक मत ल्याएर जितेका थिए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि थापाले भारी मतान्तरका साथ जिते । यही निर्वाचनमार्फत ह्याट्रिक गरेका उनले प्रधानमन्त्रीको दाबी पेश गर्नमात्रै सफल भएनन्, स्पष्ट बहुमतमा रहेका पार्टी सभापतिलाई नै टक्कर दिने साहस गरे । तथापी देउवाको दबदबा र आफ्नै समूहभित्रका ७ सांसदको मत गुमाएर उनी पछि परे । सत्ताको प्रभावले समेत देउवाको विकल्प खोज्न थापालाई असफल बनायो । किनकि थापाले प्रतिनिधित्व गरेको शेखर–गगन समूहभित्र छद्म असन्तुष्टि थियो ।
सामान्यतया सभापतिमा देउवाविरुद्धै चुनाव लडेकाले संसदीय दलमा पनि शेखर देउवाको प्रतिद्व्रन्द्वी बन्नुपथ्र्याे । तर थापाको बागी स्वभाव र समूह विभाजनको खतराले दबाबमा परेका शेखर अन्ततः थापासँग गल्नैपर्ने अवस्था आयो । भलै शेखरले १५ महाधिवेशनमा सभापतिको सुनिश्चितता गर्दै सहमति गरेको विषय सतहमा छ ।
अहिले गगनको प्रस्तावक शेखर बनेका छन् भने फरक समूहको प्रतिनिधित्व गर्ने महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमै हारेका प्रदीप पौडेल उनको समर्थक बनेका छन् । जुन थापाको सबैभन्दा ठूलो सफलता हो । १४ औं महाधिवेशनमा महामन्त्री लडेका चारै जना एक ठाउँमा उभिएको छन् । भोलिको कांग्रेसका लागि यो निकै सुखद् पनि हो । कतिपय भने थापाको यो राजनीति छलाङ देखेर आश्चार्यचकित परेका छन् । तर प्रत्येक महाधिवेशनमा गुट फेर्दै हिडेका थापाले १५ औं महाधिवेशनसम्म शेखरलाई नै पार्टी सभापतिमा प्रस्ताव गर्ने गरि अडिग रहलान् वा फरक समीकरणमा उत्रिएलान् ? अहम् प्रश्नमाथि शंका छ ।
प्रकाशित समय : १३:१६ बजे




















