काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गगनको गगनचुम्ने छलाङ

11.87K
shares

नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले चुनाव हारे । कुल ८९ मध्ये सभापति शेरबहादुर देउवाको पक्षमा ६४ सांसदले मत दिए भने महामन्त्री थापाको पक्षमा मात्र २५ सांसद उभिए । यो ३९ मतान्तरको फरक हो । थापाले पाएको मतभन्दा मतान्तर धेरै छ । यसर्थ थापाको यो फराकिलो हार हो । तर उनले राजनैतिक रुपमा बाजी मारेका छन् ।

शेखरलाई गुटको नेता खोसिने डर र गगनलाई मत माग्दा गरेको वाचा तोडिने डर, डरैडरका बीचमा शेखर–गगन समूहभित्र मंगलबार बिहानसम्म पनि सहमति जुटेको थिएन । तर १४ औं महाधिवेशनमा स्थापित गुटलाई बरकरार राख्नकै लागि भएपनि यो समूहभित्र सहमति जुट्यो र संसदीय दलको नेतामा गगन थापा भिड्ने सहमति भएको थियो । बुधबार बिहान भएको निर्वाचनमा पहिलो पुस्ताका पार्टी सभापति शेरबहादुर देउवा र तेस्रोपुस्ताका महामन्त्री गगनकुमार थापाबीच रोचक प्रतिस्पर्धा भयो । जित्नेले भावी सरकारको नेतृत्व गर्ने अवसर पायो । हार्ने पार्टीभित्रको प्रतिपक्ष कित्तामा पुग्यो । हार्दा सभापति देउवाले सत्ताको सबथोक गुमाउने थिए । त्योभन्दा धेरै ज्योतिषीले सातौंपटक प्रधानमन्त्री बन्न देखाएको सपना गुमाउने थिए । तर महामन्त्री थापाले जित्दा सबथोक पाउने थिए भने हार्दा पनि राजनीतिक जित हासिल गरे । अब हार्दा पनि कसरी जित ? प्रश्न आउँला ।

प्रश्न आउनुअघि नै जवाफ दिऊँ, ‘थापाले देउवापछिको प्रधानमन्त्री बन्ने राजनीतिक लडाइँ पनि अब आफ्नै पक्षमा दर्ता गराएका छन् । र, गगन उदयको ‘बागीशैली’ पनि स्थापित भएको छ ।’

बागी कुन अर्थमा ? यसर्थमा कि, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई सम्भवतः पार्टीले ‘लैजा’ भनेर केही दिएको छैन । उनले जति पाए, सबै बागी र विद्रोही स्वभावका कारण पाए । २०५१ पछि विद्यार्थी राजनीतिमा हात हालेका थापाले त्रिचन्द्र क्याम्पसको स्ववियु सचिव पनि बागी उम्मेदवार बनेर जितेका थिए । त्यसैलाई पहिलो जित बनाएर राजनीतिमा अघि बढेका उनी त्यही शैलीमा स्ववियु सभापति हुँदै नेविसंघको महामन्त्रीसम्म बने । उनको तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग पनि निकै टसल रह्यो । जब पार्टीको नीतिलाई नाघेर आमजनको लय समातेका थापाले राजसंस्थाविरुद्ध ०६२/६३ मा गणतन्त्रका लागि ढुंगा हान्न थाले, उनको उदयलाई आम जनताले स्वीकारे । राजनीतिक रुपमा त्यहीबाट छलाङ मारेका थापाले राजालाई लल्कार्दै बोलेका अभिव्यक्ति अहिले पनि चर्चित छन् ।

उनको प्रखर वक्तृत्वप्रतिको लोकप्रियताले झनै चर्चा पायो । आन्दोलनको मियो बन्ने गरि उदाएका थापा २०६४ को निर्वाचनमै चुनाव लड्न चाहन्थे । तर त्यसका लागि पाँच बर्ष कुर्न पर्‍यो । तथापी पहिलो संविधानसभामै समानुपातिक प्रणालीबाट संसद छिरेका उनी दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित बने । पहिलोपटक निर्वाचित बनेर स्वास्थ्यमन्त्री बन्दा थापालाई सफल मन्त्रीका रुपमा समेत हेरियाे । तर पार्टीको उपल्लो नेतृत्वसँग टक्कर लिने क्रम आज पर्यन्त जारी छ ।

कांग्रेसको १३ औं महाधिवेशनमै महामन्त्री बनेर बागीबाट व्यवस्थापक बन्ने उनको चाहना पूरा हुन सकेन । साढे पाँच वर्ष नचाहेरै उनी पार्टीभित्रको प्रतिपक्ष कित्तामा बस्नुपर्‍यो । बीपीपुत्र शशांक कोइरालासँग हार्दा पनि उपलब्धी नै हासिल गरेका उनले त्यही बलमा ७४ को आमनिर्वाचन पनि लोकप्रिय मतका साथ जिते । संसदमा उनको भूमिका निरीह बनेको कांग्रेसलाई ज्यूँदोजाग्दो बनाउन सफल रह्यो । प्रतिफल स्वरुप १४ औं महाधिवेशनमा आएर कांग्रेस बदल्ने उनको संकल्प अनुमोदन भयो ।

जबकि उनकै समूहबाट भिडेका शेखरले सभापतिमा हार्दैगर्दा थापाले अत्याधिक मत ल्याएर जितेका थिए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि थापाले भारी मतान्तरका साथ जिते । यही निर्वाचनमार्फत ह्याट्रिक गरेका उनले प्रधानमन्त्रीको दाबी पेश गर्नमात्रै सफल भएनन्, स्पष्ट बहुमतमा रहेका पार्टी सभापतिलाई नै टक्कर दिने साहस गरे । तथापी देउवाको दबदबा र आफ्नै समूहभित्रका ७ सांसदको मत गुमाएर उनी पछि परे । सत्ताको प्रभावले समेत देउवाको विकल्प खोज्न थापालाई असफल बनायो । किनकि थापाले प्रतिनिधित्व गरेको शेखर–गगन समूहभित्र छद्म असन्तुष्टि थियो ।

सामान्यतया सभापतिमा देउवाविरुद्धै चुनाव लडेकाले संसदीय दलमा पनि शेखर देउवाको प्रतिद्व्रन्द्वी बन्नुपथ्र्याे । तर थापाको बागी स्वभाव र समूह विभाजनको खतराले दबाबमा परेका शेखर अन्ततः थापासँग गल्नैपर्ने अवस्था आयो । भलै शेखरले १५ महाधिवेशनमा सभापतिको सुनिश्चितता गर्दै सहमति गरेको विषय सतहमा छ ।

अहिले गगनको प्रस्तावक शेखर बनेका छन् भने फरक समूहको प्रतिनिधित्व गर्ने महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमै हारेका प्रदीप पौडेल उनको समर्थक बनेका छन् । जुन थापाको सबैभन्दा ठूलो सफलता हो । १४ औं महाधिवेशनमा महामन्त्री लडेका चारै जना एक ठाउँमा उभिएको छन् । भोलिको कांग्रेसका लागि यो निकै सुखद् पनि हो । कतिपय भने थापाको यो राजनीति छलाङ देखेर आश्चार्यचकित परेका छन् । तर प्रत्येक महाधिवेशनमा गुट फेर्दै हिडेका थापाले १५ औं महाधिवेशनसम्म शेखरलाई नै पार्टी सभापतिमा प्रस्ताव गर्ने गरि अडिग रहलान् वा फरक समीकरणमा उत्रिएलान् ? अहम् प्रश्नमाथि शंका छ ।