गृहपृष्ठ मालीमा २ जना शान्ति सैनिक मारिए
मालीमा २ जना शान्ति सैनिक मारिए
संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ ।
‘अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु सहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएको छ,’ मालीमा संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । प्रहरीले आक्रमणकारीहरूबाट ‘केही सामग्री’ बरामद गरिएको पनि बताएको छ । मिसनका प्रमुख एल-घासिम वानेले घटनाको निन्दा गर्दै यस जघन्य कार्यबाट राष्ट्रसंघ स्तब्ध भएको टिप्पणी गरेका छन् ।
उनले प्रतिकूल वातावरणको बाबजुद पनि संयुक्त राष्ट्रसंघको शान्ति मिशनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन् । सन् २०१२ देखि, माली सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुपक्षीय संकटमा फसेको छ ।
स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तरसाम्प्रदायिक हिंसाले पश्चिम अफ्रिकी राष्ट्रमा हजारौंको ज्यान लिएको छ भने सयौं हजारौं विस्थापित भएका छन् ।
प्रकाशित समय : १६:११ बजे



















