गृहपृष्ठ ‘प्रसाद २’ को छायाँकन सुरु
‘प्रसाद २’ को छायाँकन सुरु
फिल्म ‘प्रसाद २’ को छायाँकन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाँकन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए ।
‘डेढ महिनाको सेड्युल तय गरेर छायाँकन सुरू गरेका हौं । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौं भने हिमाली सुन्दरता समेत कैद गर्दैछौं,” प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिए । उनीहरू फिल्ममा श्रीमान तथा श्रीमतीको भूमिकामा छन् ।
एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन् । निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ ।
यसमा राजेश श्रेष्ठको छायाँकन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो । लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रित रहने बताए । ‘दुईको प्रेम र त्यसले निम्त्याउने संघर्षलाई फिल्ममा देखाइनेछ,’ लेखक पौडेलले भने ।
प्रकाशित समय : १९:२१ बजे


















