गृहपृष्ठ ‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

काठमाडौं। अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘माया भनेको यस्तो होला’को तीज विशेष गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ।

तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको गीत बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा चलचित्रका कलाकारहरू नीति शाह, सृष्टि श्रेष्ठ र नम्रता खुशी लगायतलाई देख्न सकिन्छ।

‘नक्कल पारी’मा शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको छ। प्रशान्त शिवाकोटीले संगीत दिएको गीतमा तीजको मौलिक स्वादसँगै प्रेम, सम्बन्ध र मनोरञ्जनको भाव समेटिएको छ।

रेखा थापाका लागि ‘माया भनेको यस्तो होला’ विशेष चलचित्र बनेको छ। उनी यस चलचित्रमार्फत करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन्।

अभिनयसँगै निर्देशनमा समेत आफ्नो पहिचान बनाएकी रेखा यसपटक भने अभिनयमा नभई निर्देशनमा मात्र केन्द्रित भएकी छन्। चलचित्र उनका लागि निर्देशन क्षमताको परीक्षा पनि बनेको छ।

यसपटक रेखाले आफ्नै ब्यानर ‘रेखा फिल्म्स’भन्दा बाहिर आएर निर्देशन गरेकी हुन्। चलचित्र दिया एण्ड अमु फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

चलचित्रका निर्माता हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, प्रकाश श्रेष्ठ र जस्मिन श्रेष्ठ रहेका छन्। पटकथा ध्रुव लम्सालले लेखेका हुन् भने छायांकन सुदीप बरालले गरेका छन्।

चलचित्रमा स्थापित कलाकारसँगै नयाँ पुस्ताका कलाकारहरूको समेत अभिनय रहेको छ। प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई कथाको मुख्य आधार बनाइएको निर्माण पक्षले जनाएको छ।

चलचित्र आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ। तीजको अवसरलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘नक्कल पारी’ले चलचित्रको प्रचारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु