विद्यालयको जग्गामाथि मेयरको माछा व्यवसाय
वि.सं.२०७९ मंसिर २८ बुधवार १५:४७
shares

वीरेन्द्र भट्ट, कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख मात्रै होइन एक माछा व्यवसायी पनि । उनले गोदावरीकै वडा नं ९ सेहरीमा नौ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यो जमिन, डोटीस्थित निरौली विद्यालयको हो । विसं २०७८ मा विद्यालयसँग जग्गाको सम्झौता गरेर व्यवसाय सुरु गरेको मेयर भट्ट बताउँछन् ।
“२०७८ मा जग्गाको सम्झौता गरेर काम सुरु गरेका थियौँ’ उनले भने, “हामी दाजुभाइ मिलेर यो काम गरिरहेका छौँ । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौँ, केही अझै निकाल्न बाँकी छ ।”
उनले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताए । “यसमा जेसिवी प्रयोग गरेको भए आठदेखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो’ उनी थप्छन्, “हामीले ट्र्याक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौँ । यसले पोखरी दिगो बन्न मदत गर्छ ।” उनले यस वर्ष केही ढिलो हुँदा सबै पोखरीमा माछा राख्न नसकेको बताए ।
राजनीतिलाई सेवाका रुपमा बुझी स्वयम् आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय सुरु गरेको उनी बताउँछन् । ०७८ सालमै सञ्चालनमा ल्याइएको बिपी एग्रिगेट एग्रो फर्ममार्फत उनले माछा व्यवसाय सुरु गरेका हुन् । नगरप्रमुख हुनु अघिदेखि सञ्चालनमा ल्याइएको उक्त फर्मबाट विभिन्न जातका माछा उत्पादन गरी बिक्रिवितरण गर्ने योजना छ ।
“यो सबै जमिनमा माछा पोखरी बनेका छन्, यहाँ प्रायःजसो सबै प्रकारका माछा उत्पादन हुनेछन्’ उनले भने,“सानो पोखरीमा हामीले पङगास जातको माछा राखेका छौँ, यो माछा चारो मात्रै खाएर हुर्किने गर्छ, यसलाई वर्षको दुई पटकसम्म उत्पादन गर्न सकिन्छ ।” फागुनदेखि नौ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने मेयर भट्टले बताए ।
उनले माछाका भुरा पनि आफ्नै ‘स्टक’ राख्ने र आवश्यकपरे बेचबिखन गर्नेसमेत योजना रहेको सुनाए । उनले त्यसका लागि पाँच पोखरी निर्माण गरिएको बताए । सामाजिक क्षेत्रमा लागेपनि रोजगारी आवश्यक भएकाले कृषि पेसामा हात हालेको उनी सुनाउँछन् ।
“यो व्यवसाय पनि हो । सामाजिक क्षेत्रमा लागे पनि मान्छेलाई काम त चाहिन्छ । रोजगारको बाटो चाहिन्छ नै । तसर्थ कृषि पेसामा आवद्ध भएको हुँ’ उनले भने ” आफ्नो उक्त फर्मबाट स्थानीय १० जनाले रोजगार पाएको र अझै सङ्ख्या बढ्दै जाने उनको भनाइ छ ।
उनले उक्त फर्ममा करिब पौने तीन करोड लगानी लागिसकेको बताए, “करिब पौने तीन करोड लगानी लागिसकेको छ, सबै बैंकबाट नै ऋण लिएर हो । अझै यसमा लगानी लाग्नेछ । बस्ने र स्टक घर बन्न बाँकी छ । बत्ती, सिसिटिभी क्यामेरा जडान गर्नुका साथै तारबार पनि गर्न बाँकी छ ।” उक्त माछा पोखरीलाई नै भविष्यमा पर्यटकीयस्वरुप दिने किसिमको योजना मेयरसँग छ ।
उनले कृषि पेसामा सरकारी तबरबाट आवश्यक मात्रामा सहजता हुन नसकेको बताए । “म आफै पनि स्थानीय सरकारको नेतृत्व गरिरहेको छु, कृषि पेसामा पनि आवद्ध भएकाले यसका कठिनाई महसुस गरेको छु ” उनले भने, “यसमा ठूलो लगानी गरेर काम गर्दा त यति समस्या छ भने सानो लगानी गर्नेलाई झन बढी समस्या छ । किसानले अहिले मलखाद पनि नपाएको समस्या छ । त्यसैले हामीले यस क्षेत्रको कृषिलाईमाथि उठाउनका लागि के गर्न सकिन्छ भनेर योजना बनाएका छौँ । त्यही अनुसार अगाडि बढ्छौँ ।”
बजारीकरणको समस्या
भारतबाट अवैध रुपमा भित्रिने माछाका कारण नेपालका माछा व्यवसायीलाई बजारीकरणको समस्या रहेको नगरप्रमुख भट्टले बताए । “अहिले भारतबाट फर्मालिन प्रयोग गरेर अवैध रुपमा नेपालमा माछा भित्रिरहेका छन् । यसले गर्दा यहाँका उपभोक्ताको स्वास्थ्यमा समस्या ल्याइरहेको छ । अवैध रुपमा भारतबाट माछा भित्रिने गरेका कारण यहाँका माछा व्यवसायीले उचित मूल्य पाउन सकेका छैनन्” उनले थपे, ।
अवैध रुपमा भित्रिने वस्तुको रोकथामका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भए पनि नतिजा फलदायी हुन नसकेको उनको भनाइ छ ।
अवैध रुपमा भित्रिने माछाका कारण यस क्षेत्रका माछा व्यवसायी धरासायी हुने अवस्थामा रहेको उनले सुनाए । सोही कारण स्थानीय किसानले लगानी नउठ्ने गरी माछा बेच्नुपर्ने बाध्यता रहेको पनि मेयर भट्टको दाबी छ ।

























