गृहपृष्ठ राणालाई रोक्न आज पनि धर्ना
राणालाई रोक्न आज पनि धर्ना
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सर्वाेच्च प्रवेशलाई रोक्न आज पनि नेपाल बार एशोसिएशनले धर्ना दिएको छ ।
बारले शुक्रबार पनि सर्वोच्चमा राणाको प्रवेशलाई छेक्न धर्ना दिँदै छ । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् ।
राणा सर्वोच्च जान प्रयास गरे भने पनि बारको धर्नालाई छलेर जान सक्ने अवस्था कठिन देखिन्छ । अर्कोतर्फ सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका ९ पदाधिकारीले संसद्का महासचिव गौतमको पत्रलाई सर्वोच्चको संवैधानिक इजलासमा दिएको चुनौतीमाथि शुक्रबारै सुनुवाइ हुँदैछ । बुधबार दर्ता भएको उक्त निवेदनलाई सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको छ ।
राणाको निलम्बनलाई निष्क्रिय पारिदिने संघीय संसद्का महासचिवको पत्रले उत्पन्न तरंगले शुक्रबार पनि सर्वोच्च अदालत प्रभावित भएको हो ।
राणाविरुद्ध महाभियोग दर्ता, प्रतिनिधिसभामा छलफल, त्यसपछि महाभियोग समितिबाट पारित र प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई निष्क्रिय पार्ने गरी संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार राणलाई पत्र थमाएर नियमित कामकारबाहीका लागि अदालत फर्कने बाटो खोलिदिने प्रयास गरेका थिए । त्यसपछि उत्पन्न परिस्थितिले बुधबार दिनभर सर्वोच्च अदालत प्रभावित भयो । बिहीबार सार्वजनिक बिदा परेकामा शुक्रबारको सम्भावित परिदृश्यप्रति उत्तिकै चासो बढेको छ ।
प्रकाशित समय : ०९:२८ बजे



















