गृहपृष्ठ कर्णालीमा सरकार बनाउन केन्द्रमा लबिङ सुरु, मुख्यमन्त्री हुनेको लर्काे

कर्णालीमा सरकार बनाउन केन्द्रमा लबिङ सुरु, मुख्यमन्त्री हुनेको लर्काे

कर्णालीमा सरकार बनाउन केन्द्रमा लबिङ सुरु, मुख्यमन्त्री हुनेको लर्काे

कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषणा नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न लर्को लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले नेता केन्द्रमा गएर आफ्नो पक्षमा लबिङ सुरु गर्न थालेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कर्णालीमा सरकार बनाउन गृहकार्य गरेका छन् । कर्णाली प्रदेश सभाका समानुपातिकबाहेक प्रत्यक्ष तर्फका सबै प्रदेशसभा सदस्य निर्वाचित भइसकेपछि कर्णालीमा पहिले कुन दलले नेतृत्व लिने भन्ने विषयमा चर्चा चल्न थालेपछि शक्ति केन्द्र धाउन सुरु भएको हो । कांग्रेस ठूलो दल भएपछि उसले आफ्नो नेतृत्वमा सरकार दाबी गर्ने चर्चा चलिरहेको छ । उसो त सत्ता गठबन्धनको अर्को मुख्य हिस्सा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि काठमाडौँमा नेताहरुको भेटघाटलाई तीब्र बनाएको छ ।

कर्णाली प्रदेशमा फेरि पनि जीवनबहादुर शाही नै मुख्यमन्त्री बन्नुपर्ने केही कांग्रेसका नेताहरुको तर्क समेत रहेको छ । माओवादी र कांगेसका नेता काठमाडौँमा केन्द्रीत हुन थालेका छन् । माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत सोमबार, कांग्रेसका उपसभापति पूर्णबहादुर खडका मंगलबार काठमाडौँ गएका छन् । माओवादी कर्णालीकी अध्यक्ष विमला केसी समेत काठमाडौँ पुगिसकेकी छिन् ।

कांग्रेसमा पनि मुख्यमन्त्री शाहीसँगै जाजरकोटका राजीवविक्रम शाहको चर्चा सुरु भएको छ। शाह आफूले नभने पनि गठबन्धको केन्द्रमा माओवादीका शक्तिलाई भाग परेपछि शीर्ष नेताहरूले नै उनलाई प्रदेशबाट लडाउनुले पनि केही अर्थ राख्दछ।

तर, बहालवाला मुख्यमन्त्री शाही भने ढुक्क छन्। उनकै निर्वाचन क्षेत्र हुम्ला पुगेर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जिताएर पठाए जीवनबहादुर शाहीलाई नै मुख्यमन्त्री बनाउने आश्वासनले दिएका थिए।

अर्को कुरा अहिलेकै सत्ता गठबन्धन कायमै रहेमा कांग्रेसले पहिले र त्यसपछि माओवादीले गरी आधा–आधा कार्यकाल नेतृत्त्व गर्ने सहमति पनि हुनसक्छ। यो निर्णय सत्ता गठबन्धनका केन्द्रस्तरका नेताहरूमा भर पर्ने कुरा हो।

कांग्रेस र माओवादी केन्द्रबीच कुराकानी नमिलेर अहिलेको सत्ता गठबन्धन कायम नरहे तेस्रो शक्तिका रूपमा रहेको एमालेको नेतृत्त्वमा प्रदेश सरकारको गठन हुनसक्छ। अहिलेसम्मको अवस्थामा कांग्रेस–माओवादीबीच फाटो आउने कुनै संकेत देखिएको छैन।

एमालेले प्रदेश सरकारको नेतृत्त्व गर्ने अवस्था आए एमालेका कर्णाली प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेल प्रमुख दावेदार हुन्। उनी २०७४ मा पनि वाम गठबन्धन हुँदा एमालेबाट प्रमुख दावेदार नै थिए।

मुख्यमन्त्रीसहित आठ मन्त्रालय कर्णालीमा रहेको छ । समानुपातिक तर्फको सिटको घोषणा नभए पनि दलहरुले प्राप्त गरेको मतका आधारमा काँग्रेसका १४, माओवादीका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एसको एक एक सिट भागमा पर्नेछ । उत्ता उपमहासचिव शक्तिबहादुर बस्नेतले कर्णालीमा सरकार गठनका विषयमा कुनै छलफल सुरु नभएको बताए ।

कांग्रेसका उपसभापति खड्काले जुनसुकै हालतमा पनि कांग्रेसले कर्णाली सरकारको पहिलो नेतृत्व गर्नुपर्ने अडानका साथ प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको र सोही अनुसार तयार हुन जानकारी दिएको कांग्रेस वृतमा छलफल चलिरहेको छ ।

अर्थमन्त्री जर्नादन शर्माले रुकुम पश्चिमबाट आफ्ना नातेदार राजकुमार शर्मालाई मुख्यमन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेको माओवादीका एक नेताले बताए । कांग्रेस र माओवादी दुई ठूला दलबीच कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा शीर्ष नेतालाई प्रदेशका नेताहरुले दाबी पेश गरेका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच प्रदेश सरकार गठनका विषयमा केही छलफल समेत भएको स्रोतले बताएको छ ।

प्रकाशित समय : ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु