nmb bank

गृहपृष्ठ चालु आवको अन्त्यसम्म उपत्यकाका तीनवटै जिल्लामा एफटीटीएच सेवा

चालु आवको अन्त्यसम्म उपत्यकाका तीनवटै जिल्लामा एफटीटीएच सेवा

चालु आवको अन्त्यसम्म उपत्यकाका तीनवटै जिल्लामा एफटीटीएच सेवा

नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटीटीएच) सेवा पुर्‍याउने भएको छ ।

राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालु आवको अन्त्यसम्म भने काँठ र ग्रामीण भेगमा लैजाने गरी तयारी गरिएको हो ।

टेलिकमले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रुपमा एफटीटीएच सेवा सुरु गरेको थियो । सन् २०१७ देखि भने व्यावसायिक रुपमा यो सेवा आरम्भ भएको नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए । घर-घरमा फाइबर पु¥याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।

हालसम्म ६८ जिल्लाका मुख्य मुख्य सहरमा फाइबर सेवा पुगेको छ । गत वर्षमात्र एफटीटीएच को दुई लाख २६ हजार पोइन्ट जोडिएको उहाँले बताउनुभयो । चालु आवमा एफटिटिएचका तीन लाख पोइन्ट जोड्ने कार्यक्रम छ ।

हालसम्म एफटीटीएच सेवाका लागि देशभर नौ लाख ५५ हजार छ सय ६६ पोइन्ट जोडिएको छ । हाल यो सेवाका ग्राहक भने दुई लाख ८६ हजार छन् ।

एफटिटिएच सेवाका लागि पोइन्ट जोड्न भौतिक रुपमा काम गर्नुपर्ने भएकाले व्यावसायिक सेवा सुरु गरेको पाँच वर्षमा पनि देशभर सेवा बिस्तार गर्न नसकिएको सहायक प्रवक्ता लोहिया स्वीकार गर्नुहुन्छ ।

कोरोना महामारीका कारण दुई वर्ष विदेशबाट सामग्री ल्याउन नसकिएकाले पनि एफटीटीएच सेवा विस्तारको काममा ढिलाइ भएको हो । यो काम काठमाडौँ उपत्यकाकामा भने २०८० साल असारसम्ममा सक्ने लक्ष्य राखिएको छ ।

हालसम्म डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ र बाजुरामा एफटिटिएच सेवा पुग्न सकेको छैन । यस बाहेकका ६८ जिल्लामा यो सेवा पुगेको छ । जसमध्ये जुम्लामा भने काम भइरहेको टेलिकमले जनाएको छ ।

एफटीटीएच सेवा लैजान घरअघि बक्स राखिन्छ । तार भूमिगत रुपमा लगिन्छ । बक्सबाट भने पोलबाट पनि तार लगिने जनाइएको छ ।

तामाको तारमा आधारित प्रणालीमा रहेको एडीएसएल सेवाको इन्टरनेटलाई अप्टिकल फाइबर प्रणालीमा आधारित प्रविधिमा रुपान्तरण गर्न एफटिटिएच सेवा विस्तारलाई प्राथमिकतामा राखिएको हो । सबैतिर अप्टिकल फाइबर पुगेपछि तामाको तारमा आधारित प्रविधि बन्द गर्ने टेलिकमको तयारी छ ।

एफटीटीएच प्रविधिबाट इन्टरनेटका साथै ग्राहकले टेलिभिजन र टेलिफोन सेवा पनि पाउने छन् । यी तीनै सेवा प्रदान गर्ने अरु इन्टरनेट प्रदायक संस्था नेपालमा छैनन् । यो प्रविधि जोड्नेले एक महिनामा मोबाइलमा १०६ जिबी डाटा पनि निःशुल्क पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु