वर्षा र हिमपातको सम्भावना
वि.सं.२०७९ कात्तिक २८ सोमवार ०७:३२
shares

पश्चिमी वायुको असरले अबको दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइन् ।
उनका अनुसार पश्चिमी वायुका कारण आज र भाेलि वर्षा एवं हिमपातको सम्भावना छ । ‘हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ,’ उनले भनिन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं. १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताइन् ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा पनि प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज प्रदेश नं. १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

























