global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ डा. ह्यारी भण्डारी अमेरिकी विधायकमा पुन: निर्वाचित

डा. ह्यारी भण्डारी अमेरिकी विधायकमा पुन: निर्वाचित

डा. ह्यारी भण्डारी अमेरिकी विधायकमा पुन: निर्वाचित

अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् ।

मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा. ह्यारी भण्डारीले पुन: जीत हासिल गरेका छन् । उनी कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बनेका हुन् । यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका थिए ।

ह्यारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गरेका छन् । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गरेका छन् । डिष्ट्रिक्ट ८ बाट तीन जना विधायक निर्वाचित हुने व्यवस्थाअनुसार तीनै जना डेमोक्रयाटका उम्मेदवार विजयी भएका छन् । ह्यारीले सबैभन्दा वढी मत पाएका छन् । उता सोही डिष्ट्रिक्टमा रिपब्लिकन पार्टीका उम्मेदवार गेलेन गेलहार, टिमोथी नेउवार र क्थालिन स्मेरो पराजित भए ।

यसैगरी न्यूयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ न्यूयोर्कबाट पहिलो पटक उमेदवार बनेकी सराहना श्रेष्ठ विजयी भएकी छन् । छोटो समयमा राजनीतिक सफलता हात पारेकी  सराहनाले जीतसँगै न्यूयोर्क स्टेट एसेम्बलीमा जीत हासिल गर्ने पहिलो नेपाली बनेर इतिहास निर्माण गरेकी छन् ।

विजयी भएपछि भण्डारीले आफूलाई सहयोग गर्ने सम्पूर्ण नेपाली अमेरिकीलाई धन्यवाद दिइन् । विगतको कार्यकालमा आफूले १४ वटा बिल पास गर्न सफल भएको र केही बिलहरु विचाराधीन अवस्थामा रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने भण्डारीले बताइन् । उनले भनिन्, ‘मैले आगामी चार वर्षमा एकतातिर मेरा मतदातासँग गरेको प्रतिबद्धताअनुसारको काम गर्नुछ भने अर्कोतर्फ नेपाली अमेरिकीको मूलधारको राजनीतिमा थप सहभागिताका लागि संस्थागत ढंगले काम गर्नु पर्नेछ ।’

मूलधारको राजनीतिमा एकपछि अर्को सफलता हात पारेसँगै नेपालीमूलका अमेरिकी खुसी भएका छन् । ‘यो जित हाम्रो मूलधारको राजनीतिमा कोसेढुंगा साबित भएको छ,’ अमेरिकाको मेरिल्याण्डमा रहेका डा. श्याम कार्कीले विजयको खबर सुनेपछि प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाको नीति निर्माण तहमा नेपालीभाषीको प्रतिनिधित्वले हामी नेपालीलाई गौरवको अनुभूति भएको छ ।’ कार्कीले सन् २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा सघाउँदै आएका छन् ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु