विपदकाे मारमा कर्णाली : असोज अन्तिमयता ४९ को मृत्यु, २५ बेपत्ता
वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:४६
shares

गत असोज अन्तिम साताको मनसुनजन्य विपदका कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ । अहिलेसम्म २५ जना बेपत्ता भएका छन् ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा रहेको जानकारी दिए । ‘असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा दश/दश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको थियो,’ उनले भने, ‘विपद्का कारण बेपत्ता हुनेको संख्या कालीकोटमा मात्रै १८ पुगेको छ ।’ त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुम-पश्चिममा एक/एक गरी २५ व्यक्ति बेपत्ता भएको उनले बताए ।
चालु आव ०७९/८० को साउन, भदौ र असोज महिनामा विपदबाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर घाइते ७४ भएको जनाइएको छ । मन्त्रालयको तथ्यांक अनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन् । त्यसमा सात हजार चार सय १८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन् ।
तीन हजार दुई सय ८६ हुम्ला, जुम्लामा एक हजार नौ सय ५२, दैलेख एक हजार छ सय २०, सल्यान छ सय चार र सुर्खेतमा पाँच सय ६६, डोल्पा ३२, जाजरकोट र रुकुम-पश्चिम १७/१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले बताए । उनका अनुसार विपदबाट कर्णालीमा हालसम्म दुई हजार दुई सय ५९ घर पूर्ण र दुई हजार छ सय ८४ घर आंशिक क्षति भएका छन् ।
कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपात चिसोबाट दुई व्यक्तिको मृत्यु भएको छ । विपद पूर्वतयारी र प्रतिकार्य योजनाका कारण असोज घटनामा खोज तथा उद्धारकार्यमा सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए । ‘विपद्को समयमा एक सय २८ मान्छेको उद्धार गरिएको थियो,’ सचिव भुसालले भने, ‘खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ ।’
विपद कुनै पनि बेला हुनसक्ने जनाउँदै उनले स्थानीय आपतकालीन कार्यसञ्चालन समितिलाई बलियो र क्रियाशील बनाउनतर्फ सबै विकास साझेदार र सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

























