global ime bank Long Banner Ad

गृहपृष्ठ सांसद ज्यू ! साढे ४ करोड के गर्नुहुन्छ ?

सांसद ज्यू ! साढे ४ करोड के गर्नुहुन्छ ?

सांसद ज्यू ! साढे ४ करोड के गर्नुहुन्छ ?

नेपालका सबै संघीय र प्रादेशिक सांसद, गाउँपालिका अध्यक्ष महोदयहरूमा मेरो हार्दिक अपिल । भोट दिने आफ्नै जनताको ज्यानको कदर गर्नुहुन्छ भने संसद् विकास कोषको सदुपयोग गर्दै यो वर्ष आफ्नो निर्वाचन क्षेत्रमा १ करोड लगानी गर्नुहोस् ।

जनप्रतिनिधि ज्यू ! यस वर्ष १ करोड लगाएर आ-आफ्नो निर्वाचन क्षेत्रमा पीसीआर परीक्षण केन्द्र बनाऊँ । आफैँ बचौँ अनि आफ्ना मतदाता पनि बचाऊँ !

यतिले एउटा पीसीआर परीक्षण केन्द्र बन्छ । तपाईंलाई पोहोरको करोडौँ कहाँ गयो भनेर जनताले सोध्ने छैनन् । यही वर्षको संसद् स्थानीय विकास कोषको बाँकी रकम पनि बरु जेसुकै गर्नुहोस् तर कृपया यो महामारीको संकटमा तपाईंलाई चुन्ने जनता-जनार्दनलाई नबिर्सनु होला । नत्र ३ वर्षपछि कुन मास्क लाएर घर-दैलोमा भोट माग्न आउनुहुन्छ ?

आउनुहोस्, गुणस्तर र ब्रान्ड हेरी पीसीआर परीक्षण केन्द्र बनाउन लाग्ने अनुमानित लागतको चर्चा गरौँ ।

आरडीटीले कोरोना संक्रमणको सुरुवाती चरणमा ५ दिनदेखि ७ दिनसम्म पोजेटिभ नदेखाउने हुनाले सुरुमा आरडीटीभन्दा पीसीआर नै बढी भरपर्दो हो । त्यसैले कन्ट्याक्ट ट्रेसिङ गर्न र सामाजिक चरणको कोरोना नफैलन पीसीआर मै ध्यान दिनु आवश्यक छ । त्यसमाथि नेपाली बजारमा उपलब्ध आरडीटीको गुणस्तरमाथि पनि प्रश्न चिन्ह भएको हुनाले अब पीसीआर परीक्षण गर्ने पूर्वाधार हरेक जिल्लामा पुर्याउन आवश्यक छ ।

मिनी पीसीआर मेसिन : १० देखि २० लाख,
स्वाब स्टोरेज गर्ने डिप फ्रिज : २ देखि ५ लाख,
बायो सेफ़्टी क्याबिनेट : ५ देखि १० लाख,
सुरक्षा उपकरण ९२ जना प्राविधिकको लागि : २ देखि ५ लाख

१ महिनासम्म दैनिक १०० ओटा स्याम्पल परीक्षण गर्न चाहिने सुरुवाती रसायनहरू (template DNA, PCR primers, nucleotides, PCR buffer and Taq polymerase) इत्यादि । १० देखि २० लाख । सुरक्षित ढुवानी : २० लाख । प्रयोगशाला पूर्वाधार निर्माण : २० लाख । जम्मा : ९० लाख देखि १ करोड रूपैयाँ ।

अहिले एकातिर विश्व बजार आर्थिक मन्दीतर्फ उन्मुख छ भने अर्कोतिर कोरोना महामारीको प्रकोपले विदेशी नागरिकलाई ‘आफ्नै देश जाऊ’ भन्ने लहर बढ्दो छ । त्यसैले कोही त्रासले त कोही घर परिवार भेट्ने आसले आज नेपाल लकडाउन छ भनी थाहा हुँदाहुँदै पनि दिल्लीदेखि पश्चिम नेपाल जाने आनन्दविहार बस अड्डादेखि लिएर गौरिफन्टा र गड्डाचौकीजस्ता नाकामा नेपाल फर्किन चाहनेको भीड छ ।

आपतमा आखिरमा सबैको मुखमा आउँछ आमाकै नाम । आश्रय बन्छ आफ्नै गाउँ-ठाउँ । हाम्रा गाउँ-घर फर्किएका दाजुभाइहरूले गाउँमा कोरोना भित्र्याए । हामीसँग न नियन्त्रण पूर्वाधार नै छ, न त सही सूचनाको प्रवाह ।

सुदूरपश्चिममा अहिले ६० हजार जनाभन्दा बढी क्वारेन्टिनमा छन् । जब कि सेती प्रयोगशालामा दैनिक २५० जनाको मात्रै स्वाब परीक्षण भइरहेको छ । मेसिन एउटै, टिम पनि एउटा मात्र छ । सबैको पीसीआर परीक्षण गर्न अहिलेको एउटा मेसिन र जनशक्तिले भ्याउने स्थिति छैन ।

हामीलाई तत्काल चाहिने आपतकालीन स्वास्थ्य सामग्री, औषधि र  खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको समेत कमी पर्न सक्छ र दीर्घकालीन रूपमा हाम्रा युवा जनशक्ति स्वदेश फर्किएपछि उनीहरूलाई रोजगारी सिर्जना गर्ने चुनौती आउन सक्छ । जसको व्यवस्थापन गर्न हामीसँग न कुनै तयारी छ, न योजना नै ।

आज विपद्को घडीमा कुनै पनि देशको प्राथमिकता आफ्ना जनतालाई बचाउने हुनु स्वाभाविक नै हो । नेपालले पनि अब समयमै सबै जिल्ला सदरमुकाममा आवश्यक परीक्षण प्रविधि र यन्त्रहरू आरएनए सिक्युन्सर र आरडीटी, पीसीआर इत्यादि राखी जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सेवामुलक कार्य गर्न अब ढिलो गर्नुहुन्न । यस्तो पूर्वाधार निर्माण गरी देश-विदेशका दक्ष जनशक्ति भित्र्याउन या स्वदेशमै भएका युवालाई प्रशिक्षण दिने ठोस योजना अब यो आर्थिक वर्षमै बनाउन आवश्यक छ ।

केही महिनाअघि सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले यसै आर्थिक वर्षभित्र जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न सकिने अवस्था नरहेको बताएको सुन्दा दुःख लागेको थियो । तर हालै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले यस वर्ष स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै अस्पतालहरूको स्तरोन्नति गर्ने र तीन वटा ट्रमा सेन्टरसमेत स्थापना गर्ने भनेर भाषण गर्दै गर्दा यथार्थमा भने भण्डारण क्षमताभन्दा बढी स्वाब संकलन हुने अवस्था भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलनको काम ५ दिनका लागि रोक्नुपरेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताएका छन् ।

सुदूरपश्चिममा अहिले ६० हजार जनाभन्दा बढी क्वारेन्टिनमा छन् । जब कि सेती प्रयोगशालामा दैनिक २५० जनाको मात्रै स्वाब परीक्षण भइरहेको छ । मेसिन एउटै, टिम पनि एउटा मात्र छ । सबैको पीसीआर परीक्षण गर्न अहिलेको एउटा मेसिन र जनशक्तिले भ्याउने स्थिति छैन । प्रदेश सरकारले अर्को मेसिन खरिदका लागि प्रक्रिया सुरु गरेको भए पनि कहिलेसम्म आइपुग्ने भन्ने टुंगो छैन ।

अब धनगढीमा २/४ पीसीआर मेसिन थप्नबाहेक सुदूरपश्चिम प्रदेशका हरेक जिल्ला स्वास्थ्य कार्यालयमा कम्तीमा एउटा पीसीआर परीक्षण प्रयोगशाला राख्न जरुरी छ । मुख्यमन्त्री भट्टले हालसम्म कार्यान्वयनमा आउन नसकेको सय करोड बजेट रहेको स्वरोजगार कार्यक्रममार्फत प्रवासबाट आएका मजदुरहरूलाई विनाधितो कर्जा दिएर स्वरोजगार र उद्यमशील बनाउने कुरा पनि सराहनीय छ । मुख्यमन्त्री भट्टले प्रदेश सरकार अहिलेसम्म सुस्त गतिमा रहे पनि अब पहिला आफ्नै खुट्टामा उभिनुपर्‍यो । अनि हिँड्ने हो, त्यसपछि बरु दगुरौँला ।

हो, एक हातले ताली बज्दैन । यस्तो विपदमा साझा सहमतिमा जनप्रतिनिधि, नागरिक समाज, युवा र विज्ञहरूको टोली बनाऊँ । गाउँ-ठाउँमा स्थानीय युवालाई प्राविधिक र व्यावसायिक प्रशिक्षण प्रदान गरी उद्यमशीलता प्रवर्द्धन गर्न सबै नेपाली मूलका वैज्ञानिकहरू एकजुट बनौँ ।

हुनत, यो सबै सुरु गर्ने सर्वोत्तम समय २ वर्षअघि थियो । त्यति बेलै यो काम गरेको भए आज पर्दैन थियो होला । तर, २ वर्ष नेताले प्रदेशको राजधानी तोक्न र आफ्नै सेवा सुविधा र अधिकार वृद्धिका प्रयासमा र युवाले कन्सल्टेन्सी धाउनमै बिताए । याद राख्नुहोस्, यी फलफूल लगाउने सर्वोत्तम समय २ वर्षअघि नै भए पनि दोस्रो उत्तम समय आज हो । अहिले हो ।

विदेशबाट फर्केका यी युवाबाट शिक्षा र उद्यमशीलता प्रवर्द्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गर्नैपर्छ । अब हरेक जिल्लामा कम्तिमा एउटा वैज्ञानिक अनुसन्धान तथा परीक्षण प्रयोगशाला खोल्न संघीय र प्रादेशिक सरकारहरूले गुरुयोजना बनाउनुपर्छ । त्यसपछि त्यस्ता स्थानीय वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्द्धन केन्द्रहरू सञ्चालन गर्न आवश्यक पर्ने नेपाली मूलका दक्ष जनशक्तिलाई क्षमताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट चयन गर्नुपर्छ । यसो भए मात्रै सन्तुलित र विकेन्द्रित विकास सम्भव छ । त्यस्तो संरचना बनाउन चाहिने प्राविधिक जनशक्ति जुटाउन स्थानीय, प्रादेशिक र संघीय सरकारको सहयोग र संरक्षण चाहिन्छ नै ।

देशमा गुणस्तरीय शिक्षा प्रणालीको विकास, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना गर्न व्यक्तिगत, सामूहिक प्रयासको आवश्यकता पर्दछ । यो समय सबैले हातेमालो गर्ने समय हो । के हाम्रो आफ्नो गाउँ-ठाउँ र देशप्रति दायित्व छैन ? हाम्रो गाउँघरमा जे परिवर्तन हेर्न चाहन्छौँ, हामीले आफैँ त्यो परिवर्तनको उदाहरण भएर देखाउने बेला यही हो ।

आज हामीले आफ्नो गाउँ-ठाउँमा गरेको योगदानले विज्ञान प्रविधि विकास र नवीनतम उद्योगहरुको स्थापना भई स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्‍यो भने भोलि हाम्रा भाइबहिनी, छोरा नातीले आफ्नो गाउँ-ठाउँ छोडी विदेशिनुपर्ने बाध्यता कम हुनेछ । देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नैपर्छ ।

हो, एक हातले ताली बज्दैन । यस्तो विपदमा साझा सहमतिमा जनप्रतिनिधि, नागरिक समाज, युवा र विज्ञहरूको टोली बनाऊँ । गाउँ-ठाउँमा स्थानीय युवालाई प्राविधिक र व्यावसायिक प्रशिक्षण प्रदान गरी उद्यमशीलता प्रवर्द्धन गर्न सबै नेपाली मूलका वैज्ञानिकहरू एकजुट बनौँ ।

आऊ नेपाली आऊ, एकजुट भएर नेपाल बनाउन आऊ,
खुकुरी, बन्दुक धेरै भिर्‍याै अब कलम औजार समाऊ ।
नेपालको जय होस् !

(अमेरिकास्थित युनिभर्सिटी अफ म्यसाचुसेट्सबाट रसायन शास्त्रमा विद्यावारिधि गरिरहेका लेखक जोशी बझाङको खप्तड छान्ना गाउँपालिका- ५, पिठातोलाका बासिन्दा हुन् ।)

प्रकाशित समय : ००:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु