global ime bank Long Banner Ad

गृहपृष्ठ इन्धनको मूल्य घटेपछि हवाई भाडामा भारी छुट

इन्धनको मूल्य घटेपछि हवाई भाडामा भारी छुट

इन्धनको मूल्य घटेपछि हवाई भाडामा भारी छुट

हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन संघलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको संघले विज्ञप्तिमार्फत जनाएको हो ।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आइतबार जारी विज्ञप्तिमा भनिएको छ । नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि ८६० घटाएर दुई हजार २३० रूपैयाँ कायम गरिएको छ । काठमाडौँ-भद्रपुरको ७५० घटाइ एक हजार ९५० रूपैयाँ बनाइएको छ । काठमाडौँ-विराटनगर गन्तव्यमा साविकको दुई हजार १६० बाट रु ६०० घटाएर एक हजार ५५० कायम गरिएको छ ।

पोखराको २७० घटाएर ६९५ रूपैयाँ बनाइएको छ । काठमाडौँ-धनगढीको साविकको तीन हजार ९७५ बाट एक हजार १०५ घटाई दुई हजार ८७० निर्धारण गरिएको छ । काठमाडौँ-नेपालगञ्जको ८१५ घटाई दुई हजार ११५ बनाइएको छ । सबैभन्दा कम काठमाडौँ-सिमरामा ५५८ र सबैभन्दा बढी काठमाडौँ-धनगढी गन्तव्यको भाडा रहेको छ ।

हवाई इन्धनको मूल्य जे-जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णयअनुसार संघमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको संघका महासचिव योगराज कँडेल शर्माले बताए ।

कोभिड- १९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ । आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् ।

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु