गृहपृष्ठ काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै
काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै
काठमाडौंमा यही कात्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । बानेश्वर बैंक्वेटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसीटीले यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढी स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ ।
काठमाडौंमा आयोजना हुने स्टार्टअप फेस्ट यस वर्षको आठौं कार्यक्रम हो, जसमा काठमाडौं बाहिरका ४० बढी स्टार्टअप र आइसीटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ सहित ५० बढी स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन् । यस फेस्टमा विभिन्न सस्थाले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन् । काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढी स्टार्टअप र आइडियाका सस्थापकहरुका लागि किंङ्स कलेजले ३ दिनको बुटक्याम्प सञ्चालन गर्नेछ । यसैगरी विभिन्न आइटी कम्पनीमा भिजिट र मेन्टरिङका सेसनहरु पनि सञ्चालन हुनेछन् ।
फेस्टमा इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरुले पनि सहभागिता जनाउनेछन् । उनीहरुलाई अवलोकनकर्ताले प्रत्यक्ष भोटिङ गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ । उत्कृष्ट ५ को छनौटको लागि उनीहरुले सोही दिन प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसनमा पनि सहभागी हुनेछन् । यसबाहेक अन्य राम्रा इन्नोभेसनहरु भएमा पनि सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ । आयोजकका अनुसार वेबसाइट nepalistartup.com मार्फत स्टार्टअप तथा इन्नोभेसनलाई दर्ता गर्न सकिने छ । अवलोकनको लागि कसैलाई कुनै शुल्क लाग्ने छैन ।
उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटीएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन् । उत्कृष्ट १२ प्रडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सीआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कुल वर्क्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन् ।
विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याटरब, कमर्सिएलाइजेसन अफ अटोनोमस इगल आई अन म्यान्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारङग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली पर्न सफल भएका छन् ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसीटी अवार्डको स्टार्टअप विधामा ४५ वटा डिजिटल स्टार्टअप, प्रडक्ट विधामा ३६ आइसीटी प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा युवाहरुको इन्नोभेटिभ आइडियाले आवेदन दिएका थिए । त्यस मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको छनौटपश्चात उत्कृष्ट १२ को नाम छनोट गरेको हो ।
यसैगरी अन्य ९ विधामा अवार्डको छनौट प्रकृया जारी छ । पायोनियर आइसीटी अवार्ड, आन्टरप्रेनर आइसीटी अवार्ड, वुमन आइकन आइसीटीअवार्ड, नेपाली डायस्पोरा आइसीटी अवार्डको पहिलो चरणको छनौट प्रकृया सञ्चालनमा छ । यसैगरी डिजिटल एजुकेशन आइसीटी अवार्ड पब्लिक सेक्टर र प्राइवेट सेक्टर, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसीटी अवार्डको विधामा पनि छनौट प्रकृया सञ्चालन भइरहेको छ । यसै वर्ष सुरु भएको साउथ एसिया स्टार्टअप आइसीटी अवार्डको लागि विभिन्न देशका विज्ञहरुको जुरी समिति पनि गठन गरिएको छ ।
नेपालको प्रतिष्ठित यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसीसीआई लगायतको सहयोग रहेको छ । यस वर्षको अवार्ड कार्यक्रमलाई इन्फोडेभलपर्सले शीर्ष प्रायोजन गरेको छ भने जेनिसिस इन एसोसिएसन विथमा रहेको छ । अवार्डमा दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, ब्रोडवे इन्फोसिस, वेद, किंस कलेज, हाम्रो पात्रो लगायतको सहयोग तथा सहकार्य रहेको छ ।
प्रकाशित समय : १३:५९ बजे


















