global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रवीन्द्रले रोजेको सामन्ती दरबार

रवीन्द्रले रोजेको सामन्ती दरबार

रवीन्द्रले रोजेको सामन्ती दरबार

साँच्चै रवीन्द्र मिश्रलाई कमाउन बाँकी के थियो ? न नामको रहर छ न दामको रहर छ । बाँकी कमाउनुपर्ने केही छैन । नामदेखि दामसम्म कमाइसके । बीबीसी जस्तो संस्थामा काम गरे । त्यो पनि नेपाली सेवाको प्रमुख भएर । बीबीसी नेपाली सेवा लामै हाँके । जसलाई घरदेखि महलसम्मकाले सुन्थे ।

कन्दराहरुमा अहिले पनि ‘नेपाल सन्दर्भ’को चर्चा हुनेगर्छ । नेपाल सन्दर्भमा गतिलो प्रश्न र त्यसको जवाफ दुबै उनीसँग हुन्थे । कमै नेताले रवीन्द्रका प्रश्नको जवाफ फर्काउथे ।

रवीन्द्रको जीवन वाहवाहीमै बितेको थियो । उनले ‘रिटायर्ड लाइफ’ पनि संसार घुमेर आनन्दले बिताउन सक्थे । तर, सबथोक त्यागे र नेपाल फर्किए । फर्किनुको एउटै उद्देश्य थियो नेपाली राजनीतिसँगै गणतन्त्रलाई व्यवस्थित गर्ने । लोकतन्त्र व्यवस्थित गर्ने । त्यसरी नै रवीन्द्रले नेतालाई प्रश्न गर्थे ।

जंगलबाट नेकपा माओवादी भर्खर फर्किएको थियो । गोलाबारुद भर्खर बिसाएको थियो । रगत र आँशुका बाछिटा उस्तै । गणतन्त्रको क्रेडिट उसैले लिइरहेको थियो । त्यतिबेला, रवीन्द्र मिश्र राजनीतिको ‘चोयो बन्न मालिङ्गोको खोजी’मा थिए । आफ्नो वैकल्पिक शक्ति निर्माण गर्न चाहन्थे ।

बीबीसीमा प्रश्न सोधेर नेतालाई ठहरै बनाउने रवीन्द्रप्रति विश्वास, भरोसा, आशा र अपेक्षा उस्तै थिए । बीबीसी हल्लाएर नेपाल फर्केका रवीन्द्र कुनै समय बलिउडको नायक जस्तै थिए ।

स–सम्मानसाथ सुन्ने, हेर्ने र खिच्ने जमात बजारमा उनकै थियो । रवीन्द्रले यो साख कतैबाट कमाएका थिएनन् तिनै कन्दराहरुबाट ‘नेपाल सन्दर्भ’ सुन्नेहरु नै थिए । जो वर्षौदेखि रवीन्द्रलाई देख्न चाहन्थे । भेट्न चाहन्थे । आफ्ना कुरा रवीन्द्रसामु राख्न चाहन्थे ।

पक्कै पनि त्यतिबेला ‘रवीन्द्र बोतल’ बिलकुल परिवर्तन घोलिएको जस्तै देखिन्थ्यो । युवाको सपना घोलिएको जस्तै देखिन्थ्यो । सामन्तलाई तह लगाउने अठोट घोलिएको जस्तै देखिन्थ्यो । जसकारण, समाचारमा मात्रै होइन रवीन्द्रलाई चोक–चौतारोतिर सुन्ने धेरै थिए । तर त्यो ‘रवीन्द्र बोतल’ को स्टिकर मात्र भएको प्रमाणित भयो । सक्कली (गणतन्त्रवादी कल्याणकारी लोकतन्त्र मान्ने) स्टिकर झुण्डियाएर नक्कली मदिराको व्यापार गर्ने व्यापारीका रुपमा देखिए रवीन्द्र ।

पदका लम्पसार

रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको यात्रालाई बुधबारमात्रै बिराम लगाए । राप्रपा प्रवेश गरे । पद भने लगत्तै पाए, त्यो पनि वरिष्ठ उपाध्यक्ष । राष्ट्रियसभा गृहमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्रले एकता घोषणापत्रमा हस्ताक्षर गर्दै, शंखदेखि घण्ट बजाउँदै, स्वस्तिवाचन गर्दै राजतन्त्र चाहियो भनेका हुन् । रवीन्द्रको स्वस्तिवाचन कतिसम्म मंगल हुने ? त्यसको भने प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

०००
वैकल्पिक राजनीतिलाई सिध्याउन योगदान गर्ने रवीन्द्रलाई ‘दरबारिया शासक’ले सम्मान त दिने नै भयो । त्यो कुन विन्दुसम्म ? रैतीका होइनन् जनताका थोरै जिज्ञासा धेरै प्रश्नहरु छन् । रवीन्द्रको असली चरित्र के हो ? विवेकशील साझालाई भताभुङ्ग पारेर शाहवंशीय शासनलाई गोडमेल गर्न उनी कति सफल होलान् ? कि चुनावमा एक सिटका लागि मात्रै टीका र खादा थापेका हुन् ? यी पुलिन्दाका धेरै आधारहरु पनि छन् ।

०००
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच वार्ता भइरहेको छ । एमाले र राप्रपाबीच चुनावमा गठबन्धन गर्ने कुरा चलिरहेको थियो ।

०७४ को आमनिर्वाचन पनि झापामा ओली र लिङ्देन एकअर्कालाई सहयोग गरेरै चुनावमा मात्रै गएनन् जिते पनि । आगामी मंसिर ४ को निर्वाचनमा पनि एमाले–राप्रपाबीच चुनावी तालमेल गरेर जाने कुरा लगभग पक्कापक्की नै छ ।

एमालेसँग राप्रपाको तालमेल भए काठमाडौं क्षेत्र नम्बर १ बाट निकट लिने र जित्ने दाउमा रवीन्द्र मिश्र छन् । त्यहीँ तवरबाट निधो गरिसकेका छन् । रवीन्द्र ०७४ को आमचुनावमा काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

यसपटक राप्रपाको एमालेसँग साठगाँठदेखि राप्रपा प्रवेश गरेर काठमाडौं क्षेत्र नम्बर–१ को निकट बार्गेनिङ गर्ने उच्च बिन्दुमा छन् । यसपटक साम,दाम,दण्ड भेद सबै प्रयोग गरेर प्रकाशमानलाई पराजित गर्ने, जसरी पनि सांसद् बन्ने योजना रवीन्द्रले बुनिरहेका छन् । त्यसको उत्तम विकल्प एमालेसँग साठगाँठ गर्ने भएको राप्रपा नै ठानेका हुन् ।

०००

अघिल्लो निर्वाचनमा त्यहीँ क्षेत्रबाट रवीन्द्र मिश्रले १० हजारभन्दा बढी मत प्राप्त गरेका थिए । प्रकाशमानले १० हजार ९ सय ३७ मत ल्याएर विजयी भएका थिए भने वाम गठबन्धनका तर्फबाट उम्मेदवार अनिल शर्माले ५ हजार ३ सय ३६ मत प्राप्त गरेका थिए । विद्यार्थी राजनीतिबाट आएका अहिलेका अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिलले केही मत काट्न सफल भए तर उनले जित्ने सम्भावना भने थिएन । त्यतिबेला जित्ने सम्भावना रवीन्द्रकै थियो । भनौं प्रकाशमानविरुद्ध बलियो उम्मेदवार उनी थिए । झिनो मतले हार व्यहोरेका रवीन्द्र कांग्रेसको आधार भत्काउन चाहन्थे ।

रवीन्द्रको त्यो आधार बनाइदिने एउटै व्यक्ति हुन् । उसलाई कसरी भुल्न सकिन्छ र ? जसको नाम हो उज्ज्वल थापा । नैतिकता र असल आचरणको नेपाली राजनीतिमा कथमकदाचित् कुरा उठ्यो भने उज्ज्वलको नाम सायदै छुट्ला । कम बोल्ने, धेरै गर्ने युवा माझ निकै प्रभाव भएको उज्ज्वलको युवा राजनीतिमा नेतृत्व गर्ने क्षमता पनि उस्तै उज्यालो थियो । चहकदार थियो । तर कोरोना महामारीले साराका सारा सपना अँध्यारोमा पुर्‍याइदियो । सधैँ ‘नेपाल खुला छ’ भन्ने उज्ज्वलको सास सदाका लागि बन्द भयो । त्यो म्याराथनको धावक केही मिटरमै रोकियो ।

जीवित रहुन्जेल वैकल्पिक राजनीतिको परिकल्पनाकार उज्ज्वल सधैँ पार्टी नेतृत्वमा छायामा परिरह्यो । नेतृत्वमा अरु आउनपर्छ । ल्याउनुपर्छ सधैँ आफु मात्रै कुर्सी घुम्नु हुँदैन भन्ने उज्ज्वलका उदाहरण धेरै छन् ।

त्यसरी निर्माण भएको थियो नेपाली राजनीतिमा वैकल्पिक धारा । जसलाई रवीन्द्र मिश्रले सधैँ धारिलो हतियार चलाइरहे । त्यो सिनारियो उहिलेदेखि देखिए पनि रवीन्द्रले आज आएर सामन्तसँगको साठगाँठले झन् प्रमाणित गरिदियो ।

नामोनिसान मेटिने पालो कसको ?

रवीन्द्र मिश्र राप्रपा गए लगत्तै विवेकशील साझाले आफ्नो नेताहरुसँग छलफल अगाडि बढाएको छ । राजसंस्थाको पुनःस्थापना र संघीयता खारेजी, धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने ‘रवीन्द्र मिश्र दस्तावेज’ कारण विवेकशील फुटको संघारमा पुगेको थियो । मिलन पाण्डेहरुले छुट्टै समूह खडा गरेर अलग भएका थिए ।

अब हाल विवेकशील साझामा रवीन्द्र नभएपछि विचार मिल्ने, सिद्धान्त मिल्ने र वैचारिक समूह एकै हुनुपर्ने जोड छ । उज्ज्वल थापाले स्थापित गरिदिएको वैकल्पिक राजनीतिको धारलाई जोगाउन मिलन पाण्डे लगायतका पूर्व नेताहरुसँग छलफल अगाडि बढेको हो । रवीन्द्र निक्लिए लगत्तै विवेकशील साझाले आफ्ना गतिविधि बढाइसकेको छ ।

अध्यक्ष समीक्षा बास्कोटाले बुधबार भिडिओमार्फत नेता कार्यकर्तालाई विवेकशील साझा स्थापनाकालको प्रतिबद्धता नभुलेको बताएकी छन् । प्रतिबद्धतानुसार नै अघि बढ्न आग्रह समेत गरेकी छन् । साथै निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्नु सामान्य रूपमा लिन उनको सुझाव छ । आशा गरौँ समीक्षा नेतृत्वको विवेकशीलले उज्ज्वल थापाको नीति निर्देश अगाडि बढाउनेछ ।

००
१९ मंसिर ०७८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भए । लामो समयदेखि राप्रपाको नेतृत्व गरिरहेका कमल थापालाई पराजित गर्दै लिङदेन विजयी हुँदा राप्रपाले एउटा सन्देश दियो । एउटा पुरानो परम्परागत पार्टी त्यसमाथि पनि राजतन्त्रको पुनःस्थापनाको पक्षमा रहेको पार्टीले एउटा युवा नेतृत्व आउँदा पक्कै पनि परिवर्तनको सन्देश दिएको थियो । भलै राजतन्त्र नफर्केला! राजेन्द्र लिङदेन नेतृत्वमा आउँदा परिवर्तनको संकेत देखियो ।

त्यसलाई सकारात्मक लिइएको छ । तर, रवीन्द्र मिश्रलाई राप्रपाले स्वागत गरिरहँदा केही सवालहरु कसैगरि बिर्सन सकिँदैन । पदकै लागि उज्ज्वल थापाले स्थापित गरिदिएको विवेकशीललाई विवेकहीन बनाएर गुटको राजनीति गरिरहेका रवीन्द्र जस्तो वरिष्ठ उपाध्यक्ष पाएपछि राप्रपा कुन विन्दुमा पुग्ने ? यो प्रश्नको उत्तर चुनावपछि पाउने छौं ।

तर, हेक्का रहोस् २४० वर्षीय निरंकुशतन्त्रलाई मिल्काएर रैतीबाट नेपाली जनता भएका छन् । राणाविरुद्धको आन्दोलनदेखि राजाले गरेको ‘कु’लाई सजिल्यै कहाँ भुल्न सकेका छन् र नेपाली जनताले ? अस्थिर र स्खलित ‘रवीन्द्र मिश्र’ विचारहरु कुचोले बढार्नुपर्ने थियो हावाले उडाएको नेपाली जनताको बुझाइ छ ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु