गृहपृष्ठ साउन महिनामा भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स
साउन महिनामा भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा ९२ अर्ब २१ करोड रूपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा भन्दा यो वर्ष रेमिट्यान्स २० प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतशितले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ’ लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भइ ४४ हजार ५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।
प्रकाशित समय : १७:२३ बजे