गृहपृष्ठ नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति
नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति
काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको प्रयोगबाट सुरक्षा निगरानी बढाइने भएको छ । भारतको देहरादूनमा सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो ।
“नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि (सीसीटीभीलगायत आधुनिक उपकरण)को प्रयोगबाट सुरक्षा निगरानी बढाउन दुवै पक्षबीच सहमति भयो,” बैठकपछि गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कार्यदलको आगामी बैठक दुवै पक्षको अनुकूल मितिमा नेपालमा आयोजना गर्ने सहमति समेत भएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गरेका थिए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयकी सहसचिव पौसुमी बासुले गरेकी थिइन् ।
बैठकमा सन् २०२५ को मार्चमा नेपालको पोखरामा सम्पन्न १३औँ बैठकमा भएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गरिएको थियो । सीमापार अपराध, लागुऔषध, मनोद्वीपक पदार्थ, प्रतिबन्धित तथा नियन्त्रित औषधि, वन्यजन्तु तथा मानव वेचविखन, जाली नोटसहितका आर्थिक अपराध, हातहतियार तथा खरखजाना लगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न दुवै राष्ट्रका सम्बद्ध निकायहरूबीच प्रभावकारी समन्वय गर्ने विषयमा छलफल केन्द्रित भएको थियो ।
बैठकमा नेपालले साइबर अपराध र सीमापार डिजिटल ठगी लगायतका उदीयमान सुरक्षा चुनौतीका विषयहरू उठाएको मन्त्रालयले जनाएको छ । बैठकमा दशगजा क्षेत्रको अतिक्रमण र अनधिकृत प्रयोगमा नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवम् पारस्परिक कानुनी सहायता लगायतका महत्त्वपूर्ण सीमा व्यवस्थापनका विषयहरूमा छलफल भएको थियो ।
“बैठकमा दुवै देशका नागरिकहरूको सीमापार आवागमनलाई सहज बनाउने, नेपाल र भारतको सीमा नाका हुँदै आवगमन गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण र निगरानी संयन्त्रलाई सुदृढ पार्ने, विपद् व्यवस्थापन र नेपाल–भारत जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय : २१:४७ बजे


















