गृहपृष्ठ नेपालद्वारा सिरिज क्लिन स्विप
नेपालद्वारा सिरिज क्लिन स्विप
केन्याविरूद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । सोमबार सम्पन्न अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हराउँदै तीन खेलको श्रृंखला ३–० ले जितेको हो ।
२५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका ओपनरद्वय अर्जुन साउद र आशिफ शेखले अर्धशतकीय योगदान गरे । ९० बल खेलेका साउदले २ छक्का र ३ चौकाको मद्धतमा ५८ तथा शेखले ४३ बलमा ५६ रन जोडे ।
यस्तै, बसिर अहमद ५२ तथा कप्तान रोहितकुमार पौडेल ४६ रनमा नटआउट रहे । ज्ञानेन्द्र मल्लले ३३ रनको पारी खेले ।
यसअघि, नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनाएको थियो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाए ।
यस्तै, लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदीप सिंहले ३७ रन बनाए । इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोडे ।
नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान दुई-दुई विकेट लिए भने बसिर अहमद र शाहब आलमले एक-एक विकेट लिए ।
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा १७ रनले विजयी भएको थियो ।
प्रकाशित समय : २०:०४ बजे