गृहपृष्ठ माधवसँग पार्टी एकताको प्रयास जारी छ, एउटै घोषणापत्र हुन्छ : प्रचण्ड
माधवसँग पार्टी एकताको प्रयास जारी छ, एउटै घोषणापत्र हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् ।
उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको जानकारी दिए ।
शुक्रबार पार्टी प्रशिक्षणका लागि सुर्खेत पुगेका प्रचण्डले त्यहाँ आयोजित पत्रकार भेटघाटमा भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।’
केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ तर चुनाव चिह्न भने आ-आफ्नै हुने उनले बताए ।
प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् । बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे ।
सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए । माओवादीको शुक्रबार सुर्खेतमा नेता–कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको छ ।
प्रकाशित समय : ०९:५७ बजे