गृहपृष्ठ नेपाल सरकारले ‘माटो जोगाऔँ’ अभियानमा हस्ताक्षर गर्दै
नेपाल सरकारले ‘माटो जोगाऔँ’ अभियानमा हस्ताक्षर गर्दै
विश्वप्रसिद्ध सदगुरु जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियानअन्तर्गत नेपाल सरकारसँग आगामी शुक्रबार सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अभियानबीच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने तय भएको हो ।
माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभरहित मानवसेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नका लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।
माटोको विनाशको संकटलाई सबैसामु छर्लङग पार्नका लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रमा १०० दिने यात्रा सुरु गरेका थिए । यात्राको सुरुवातदेखि ८० राष्ट्रले यस अभियानलाई समर्थन गरेका छन् । ६ क्यारिबियन राष्ट्र, अजरबैजान, युएई लगायतका राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षरसमेत गरिसकेका छन् । त्यसैगरी, आइयुसीएन, यूएनसीसीडी, डब्लुएफपी लगायतका पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।
सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रकाशित समय : १८:५२ बजे



















