गृहपृष्ठ यसरी हुनसक्छ समृद्ध कर्णाली
यसरी हुनसक्छ समृद्ध कर्णाली
कर्णालीको पर्यटन क्षेत्रमा अहिले पनि अपार सम्भावना छ । कर्णालीको पर्यटनका बारेमा अझै बहस हुन सकेको छैन । जति भएको छ, त्यो सैद्धान्तिक र यसको सम्भावनाका विषयमा भइरहेको छ । ती सम्भावनालाई पनि पर्याप्त रुपमा प्रचार प्रसार भएको छैन । कर्णालीमा सामान्य घुमघाम पर्यटनका बारेमा मात्रै धेरै बहस भएको सुनिन्छ । तर, यसमा पनि घनीभूत बहस भएको देखिदैन । कर्णाली प्रदेश सरकारले लामो समय लगाएर कर्णालीमा पर्यटनका विभिन्न सम्भावनारे प्रयत्न गरेको देखिन्छ ।
कर्णालीमा जलयात्रा, पदयात्रा, जनयुद्ध पर्यटनदेखि हनिमुन पर्यटनका बारेमा पनि कर्णाली प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरेको देखिन्छ । जसको, प्रचार–प्रसार नहुँदा कर्णालीको असीमित पर्यटन सम्भावना ओझेलमा परेका छन् । अघिल्लो वर्ष प्रदेश सरकारले पर्यटन सम्भावनाबारेमा केही विवरण सार्वजनिक समेत गरेको थियो । जुन, यस्ता छन् :
पद यात्रा पर्यटन
कर्णाली पदयात्राका लागि चर्चित हुन सक्छ । खासगरी कर्णालीका हिमाली जिल्लाहरु पदयात्राका लागि विशेष छन् । नेपालमा पदयात्राका लागि अन्नपूर्ण बेस क्याम्प चर्चित मानिए पनि कर्णालीको पदयात्रा त्यो पनि उत्कृष्ट छ । जसको पर्याप्त सम्भावना र प्रचार भएको छैन । कर्णाली प्रदेशमा गरिएको विज्ञहरुको अध्ययनले डोल्पा, हुम्ला, मुगु र जुम्लामा पदयात्रा विकास गर्न सकिने सम्भावना छ । त्यसमध्ये पनि हुम्ला, मुगु र डोल्पा विशेष हुन सक्छ । हुम्लाको मानसरोवर दर्शन गर्न, मुगुको राराताल जान र डोल्पाको फोक्सुन्डो ताल हेर्न अहिले पनि धेरै जना पदयात्रा गर्ने गरेका छन् ।
साहसिक पर्यटन
कर्णालीमा सम्भावना भएको अको पर्यटन क्षेत्र हो, साहसिक । जुन पदयात्रा जस्तै हो । कर्णालीको हिमाली क्षेत्रमा चढ्ने, आफूलाई साहस भर्ने र ती अग्ला क्षेत्रमा बन्जी, जीपलाइन जस्ता पर्यटकीय सम्भावनाका क्षेत्रहरु निर्माण गर्न सकिन्छ । हप्तौ लगाएर गरिने पदयात्रापछि साहसिक पर्यटनले पर्यटकमा नयाँ उर्जा भर्छ । जसले त्यो पर्यटन क्षेत्रमा दोहोर्याएर जाने वातावरण पनि बनाउँछ । कर्णालीको साहसिक पर्यटनबारे पनि खासै छलफल र बहस भएको छैन । यसका लागि विज्ञहरुले डोल्पा, हुम्ला र रुकुम, कालिकोटलाई उपयुक्त क्षेत्रका रुपमा ठहर्याएका छन् ।
खेलकुद पर्यटन
कर्णालीका १० वटै जिल्लामा खेलकुद पर्यटनको अर्को सम्भावना हो । सबैजसो जिल्लामा हुने खेलकूद प्रतियोगिता उत्तिकै महत्वपूर्ण र विशेष छन् । खेलकुदमार्फत पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पर्यटनलाई अझै बढाउन सहयोग पुग्छ ।
यसका लागि प्रदेश सरकारले बजेट बढाएर तीन–तीन महिनाको बीचमा खेलकुद प्रतियोगिता गर्दा उचित परिणाम दिनसक्छ । तर यसतर्फ पनि सरकार र सरोकारवालाको ध्यान पुगेको छैन । जति भएको छ । त्यो पर्याप्त छैन ।
धार्मिक पर्यटन
कर्णालीका १० वटै जिल्लामा धार्मिक महत्वका मठ मन्दिर छन् । त्यतिमात्रै होइन बौद्ध सम’दायको विशेष क्षेत्र पनि कर्णालीमा छ । तर त्यसबारेमा पर्याप्त छलफल भएको छैन । हरेक जिल्लामा रहेका धार्मिक क्षेत्रको प्रचार प्रसार र पर्यटन चहलपहल भएको खण्डमा पनि धेरै महत्व बढ्छ ।
खासगरी हुम्ला हुँदै मानसरोवर पुग्ने धार्मिक पर्यटकका लागि कर्णाली नयाँ र चर्चित गन्तव्य हो । त्यसबाहेक हुम्ला, डोल्पा, सल्यान सुर्खेत, दैलेख लगायतको जिल्लामा पनि धार्मिक पर्यटन चर्चित छ ।
कृषि पर्यटन
कर्णालीको मार्सी नेपालमा मात्रै होइन, विश्वमै चर्चित छ । जुम्लामा रोपिने मार्सी चामलको पर्याप्त बजार र थप सम्भावना बाहिर ल्याउन जरुरी छ । त्यसबाहेक सबै जिल्लाको कृषि पर्यटनलाई पनि महत्व दिएर आवश्यक प्रचार प्रचार गर्न आवश्यक छ ।
जल यात्रा पर्यटन
भेरी र कर्णाली नदी सबैभन्दा धेरै चर्चा हुन्छ । नेपालकै यी लामा र विशेष नदीमा धेरै जस्तो र्याफ्टिङ हुन्छ । यो पर्यटन अहिलेसम्म सबैभन्दा धेरै विदेशीले प्रयोग गर्दै आएका छन् । स्वदेशीले यस विषयमा धेरै सोचेको, छलफल गरेको व्यवसाय सञ्चालन गरेको कम देखिन्छन् ।
डोल्पाबाट रुकुम, जाजरकोट, सल्यान सुर्खेत भएर बग्ने भेरी नदीमा र्याफ्टिङ चर्चित छ । यस्तै हुम्लाबाट बग्ने कर्णाली नदी कालिकोट, दैलेख, सुर्खेत हुँदै कैलाली भएर भारतसम्म पुग्छ । नेपालमा सबैभन्दा लामो जलयात्रा कर्णाली नदीमा हुने गरेको छ ।
भेरी र कर्णाली नदीमा जति जल पर्यटन व्यवसाय छ । त्यो सीमित ठाउँमा छ । यसको बारेमा सरकारले सहुलियतपूर्ण अनुदान कार्यक्रम ल्याएर सञ्चालन गर्न आवश्यक देखिन्छ ।
साँस्कृतिक पर्यटन
कर्णालीमा आफ्नै किसिमको संस्कृति छ । आफ्नै रहनसहन छ । आफ्नै संस्कृति छ । भाषादेखि लिएर हरेक कुरा कर्णालीको फरक छ । कर्णालीकाे समग्र पहिचान नै विशिष्ट छ । यसका लागि सल्यान, सुर्खेत, हुम्ला, डोल्पा र मुगु विशेष हुन सक्छ । तर यसबारेमा पनि गम्भीर र विशेष छलफल हुन बाँकी छ ।
हनिमुन पर्यटन
कर्णालीमा सबैभन्दा धेरै सम्भावना रहेको हनिमुन पर्यटन हो । तर आवश्यक भौतिक संरचना नहुँदा यो पर्यटन ओझेलमा छ । विवाह गरेपछि मानिसहरु एक महिनाका लागि कतै टाढा जाने गर्छन । यसका लागि कर्णाली उपयुक्त गन्तव्य बन्न सक्छ । मुगको राराताल, जुम्लाको सिंजा, पाटन, अपर डोल्पो, सल्यान कुपिन्डे ताल हनिमुनका लागि विशेष ठाउँ बन्न सक्छ । तर होटल लगायत संरचनाको विकास नहुँदा यो पर्यटन पनि ओझेलमा छ ।
युद्ध पर्यटन
माओवादीले सुरु गरेको जनयुद्ध कर्णालीबाट सुरु भएको हो । खासगरी रुकुम, रोल्पा, कालिकोट, जुम्ला र जाजरकोट माओवादीको आधार इलाका हो । जहाँ युद्धका बेला सयौँले ज्यान गुमाएका थिए । त्यसलाई सम्झनाका रुपमा युद्ध लड्दै गरेका सिपाहीको फोटो अहिले रोल्पा र रुकुममा चर्चित छ । युद्ध पर्यटन रुकुम, जाजरकोट, कालिकोट र सल्यानमा विशेष र फरक बन्न सक्छ । उसो त सशस्त्र द्वन्द्वको मारमा सबैभन्दा धेरै कर्णाली परेको थियो ।
शैक्षिक पर्यटन
सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय छ । केही क्याम्पस छन् । यस्तै जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । रारामा पर्यटन विद्यालय खोल्न आवश्यक छ । यसरी सुर्खेत, दैलेख, मुगु र जुम्लामा शैक्षिक पर्यटन फस्टाउन सकिन्छ । तर त्यसका लागि पनि पर्याप्त रुपमा संरचना विकास गर्न आवश्यक छ ।
मेडिकल पर्यटन
मेडिकल पर्यटनका लागि सुर्खेत, जुम्ला, हुम्ला, रुकुम, मुगु र डोल्पा विशेष हुन सक्छ । यसका लागि स्वास्थ्य क्षेत्रको विकास र भवन निर्माण गर्दा त्यसलाई पर्यटकीय ढाँचामा बनाउन आवश्यक छ । सुर्खेतको प्रदेश अस्पताल पछिल्लो समय मेडिकल पर्यटनका रुपमा उदाहरणीय ठाउँ हो ।
गाउँ पर्यटन
कर्णालीका हरेक गाउँको आफ्नो कथा छ । ती कथाहरु विशेष छन् । किनकी ती गाउँका फोटो भूगोल झन् विशेष र सुन्दर छन् । यसकारणले पर्यटन क्षेत्र निकै फस्टाउन सक्छ । कर्णालीका सबै जिल्लालाई व्यवस्थित रुपमा भौतिक संरचना बनाउन सके पर्यटकीय आकर्षण हुन सक्छन् ।
आन्तरिक तथा बाह्रय पर्यटन
आन्तरिक पर्यटनका लागि सबै जिल्लामा धेरै सम्भावना छ । तर बाह्य पर्यटनका लागि मानसरोवर, रारा, फोक्सुन्डाे, ज्वाला र सुर्खेतको काँक्रेविहार विशेष छ । यो क्षेत्रको थप विकास र भौतिक संरचना व्यवस्थित गरेको खण्डमा कर्णालीमा बाह्य पर्यटन अझै फस्टाउन सक्छ ।
साइकल तथा मोटरसाइकल पर्यटन
पछिल्लो समय धेरैजसो पर्यटक माेटरसाइकल चढेर रारा र फोक्सुन्डो पुग्ने गरेका छन् । कर्णाली मोटरसाइकल पर्यटनको धेरै सम्भावना बोकेको क्षेत्र पनि हो । तर यसले अहिले पनि प्रत्यक्ष रुपमा फाइदा पाउन सकेको छैन । साइकल र मोटरसाइकलका लागि रुट बनाउन सकेको खण्डमा मात्रै पनि पर्यटकीय क्षेत्रको प्रचार प्रसार भएर यसले पर्यटक तान्न सक्छ ।
शोध तथा अनुसन्धान पर्यटन
कर्णालीका बारेमा पछिल्लो समय धेरै अध्ययन तथा अनुसन्धान हुने गरेको छ । कर्णालीका विभिन्न सांस्कृतिक क्षेत्रका बारेमा केही विद्यार्थीले पीएचडी गरिरहेका छन् । यो पनि एक सुन्दर सम्भावना हो । त्यसमध्ये विज्ञहरुका अनुसार सल्यान खैराबाङ्ख मन्दिर, दैलेखको दुल्लु, कालिकोटको रास्कोट, पञ्चदेवल, जुम्लाको सिंजा, अपर हुम्ला, अपर डोल्पो, जाजरकोट शिव मन्दिर, दरबार क्षेत्र तथा मुगु क्षेत्र शोध तथा अनुसन्धान पर्यटनका लागि विशेष सम्भावना बोकेका क्षेत्र हुन् ।
प्रकाशित समय : १४:४५ बजे




















