गृहपृष्ठ ‘गठबन्धन आजको आवश्यकता हो’
‘गठबन्धन आजको आवश्यकता हो’
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारेका छन् । नेता डा.कोइरालाले आगामी संघीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए ।
उनले नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा संघीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा संघीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राखेका छन् ।
नेता डा.कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिए । उनले जनतासँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै कांग्रेसले आगामी निर्वाचनबाट मुलुकमा दण्डहिनताको अन्त्य चाहेको धारणा राखे ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आगामी निर्वाचनमा जनताको घरघरमा पुगी उनीहरुको मन जितेर मत माग्नुपर्ने बताए । केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विगतका तिक्ततालाई हटाई कार्यकर्ता एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखेका छन् ।
क्षेत्र नं ६ का सभपति देवराज तामाङ, प्रदेशसभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चाँपागाई र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्यांकन हुनुपर्ने धारणा राखे ।
प्रकाशित समय : १४:३२ बजे



















