गृहपृष्ठ भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली भर्ती स्थगित

भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली भर्ती स्थगित

भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली भर्ती स्थगित फाइल तस्बिर ।

भारतले सैनिक भर्तीमा लागू गरेको अग्निपथ योजनामा तत्काल नेपाली युवालाई समावेश नगरिने भएकाे छ । साे याेजनाअन्तर्गत बुटवलमा आजदेखि र धरानमा भदाै १६ देखि छनाेट हुने कार्य तालिका थियाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूण सुवेदीका अनुसार परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अब भारतले नेपालीलाई सेनामा भर्ती गर्ने प्रारूपबारे स्पष्ट पारेपछि मात्रै थप प्रक्रिया अघि बढ्नेछ ।

नेपालले आफ्ना युवाहरूलाई पनि त्यही ४ वर्षका लागि भारतीय सेनामा भर्ती गराउन लागेको हो कि पेन्सन पाउने गरी भन्ने स्पष्ट भएकाे छैन । अग्निपथ भर्नाका सम्बन्धमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बिहीबार छलफल हुने बताइएकाे छ ।

के हाे अग्निपथ ?

गत जुलाइमा भारतले स्थल, जल र वायु गरी तीन सैनिक सेवामा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ याेजना ल्याएको थियो । जसअनुसार साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा सेनामा  भर्ती हुन पाउँछन् । यस वर्ष ४६ हजार नयाँ भर्ना लिने याेजना सार्वजनिक गरिएकाे छ ।

सैनिक जवान मात्रै भर्ती गरिने यस योजनामा भर्ना भएकालाई अग्निवीर भनिने उल्लेख गरिएकाे छ । यसमा महिला र पुरूष दुवैले भर्तीकाे अवसर पाउनेछन् । पहिलो वर्ष उनीहरूकाे मासिक तलब ३० हजार भारू हुनेछ । चौथो वर्ष भने ४० हजार पुर्‍याइने बताइएकाे छ ।

चार वर्षपछि छनाेटमा परेका २५ प्रतिशतलाई मात्रै सेनाकाे पूर्णकालीन सेवामा समावेश गरिनेछ । बाँकीलाई एकमुष्ट करिब ११ लाख भारू दिएर घर पठाइनेछ । उनीहरूले पेन्सनको सुविधा पाउने छैनन् । यस याेजनाले भारतीय सेनामा युवा जवानको संख्या बढ्ने र पेन्सन लगायतका आर्थिक भार कम हुँदा आधुनिक पूर्वाधारमा खर्च गर्न स्रोत पुग्ने भारत सरकारकाे तर्क छ । अहिले भारतीय सैनिक जवानको औसत उमेर ३२ वर्ष छ ।

सैनिक तालिम लिएका र चार वर्षसम्म हतियार चलाउन सिकेर फेरि बेरोजगार हुनु परेका युवाका लागि कस्तो नीति बनाउने भन्ने विषयमा नेपाल सरकारले कुनै छलफल गरेको छैन ।  अग्निपथकाे विषयलाई लिएर भारतमा युवाहरूले हिंसात्मक प्रदर्शन गरेका थिए । तर भारत सरकारले साेही योजनाबमाेजिम सैनिक भर्ना प्रक्रिया अघि बढाइसकेको छ ।

नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको सम्झौताअनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँछन् । हाल करिब २ सय ३० जना बेलायती सेनाकाे ब्रिगेड अफ गोर्खाजमा र १ सय ४० जनालाई सिंगापुर पुलिसकाे गोर्खा कन्टिन्जेन्टको लागि छनोट गरिन्छ । भारतीय सेनामा भने त्यस्ताे निश्चित काेटा ताेकिएकाे छैन । धरान र बुटवलका साथै दार्जिलिङ, लखनउ तथा  भारतका अन्य स्थानबाट पनि नेपाली युवालाई भारतीय सेनामा आवश्यकताअनुसार भर्ना लिने गरिएकाे छ ।

संसारमा ठूलोमध्येकाे सैन्य शक्ति भएकाे मुलुक भारतमा अहिले सैनिक संख्या १४ लाखको हाराहारीमा छ । जसमा गाेर्खालीकाे संख्या करिब ३५ हजार छ । भारतीय सेनामा बर्सेनि झन्डै ६० हजारले नियमित अवकाश पाउँछन् ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु