काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली भर्ती स्थगित

10.61K
shares

भारतले सैनिक भर्तीमा लागू गरेको अग्निपथ योजनामा तत्काल नेपाली युवालाई समावेश नगरिने भएकाे छ । साे याेजनाअन्तर्गत बुटवलमा आजदेखि र धरानमा भदाै १६ देखि छनाेट हुने कार्य तालिका थियाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूण सुवेदीका अनुसार परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अब भारतले नेपालीलाई सेनामा भर्ती गर्ने प्रारूपबारे स्पष्ट पारेपछि मात्रै थप प्रक्रिया अघि बढ्नेछ ।

नेपालले आफ्ना युवाहरूलाई पनि त्यही ४ वर्षका लागि भारतीय सेनामा भर्ती गराउन लागेको हो कि पेन्सन पाउने गरी भन्ने स्पष्ट भएकाे छैन । अग्निपथ भर्नाका सम्बन्धमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बिहीबार छलफल हुने बताइएकाे छ ।

के हाे अग्निपथ ?

गत जुलाइमा भारतले स्थल, जल र वायु गरी तीन सैनिक सेवामा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ याेजना ल्याएको थियो । जसअनुसार साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा सेनामा  भर्ती हुन पाउँछन् । यस वर्ष ४६ हजार नयाँ भर्ना लिने याेजना सार्वजनिक गरिएकाे छ ।

सैनिक जवान मात्रै भर्ती गरिने यस योजनामा भर्ना भएकालाई अग्निवीर भनिने उल्लेख गरिएकाे छ । यसमा महिला र पुरूष दुवैले भर्तीकाे अवसर पाउनेछन् । पहिलो वर्ष उनीहरूकाे मासिक तलब ३० हजार भारू हुनेछ । चौथो वर्ष भने ४० हजार पुर्‍याइने बताइएकाे छ ।

चार वर्षपछि छनाेटमा परेका २५ प्रतिशतलाई मात्रै सेनाकाे पूर्णकालीन सेवामा समावेश गरिनेछ । बाँकीलाई एकमुष्ट करिब ११ लाख भारू दिएर घर पठाइनेछ । उनीहरूले पेन्सनको सुविधा पाउने छैनन् । यस याेजनाले भारतीय सेनामा युवा जवानको संख्या बढ्ने र पेन्सन लगायतका आर्थिक भार कम हुँदा आधुनिक पूर्वाधारमा खर्च गर्न स्रोत पुग्ने भारत सरकारकाे तर्क छ । अहिले भारतीय सैनिक जवानको औसत उमेर ३२ वर्ष छ ।

सैनिक तालिम लिएका र चार वर्षसम्म हतियार चलाउन सिकेर फेरि बेरोजगार हुनु परेका युवाका लागि कस्तो नीति बनाउने भन्ने विषयमा नेपाल सरकारले कुनै छलफल गरेको छैन ।  अग्निपथकाे विषयलाई लिएर भारतमा युवाहरूले हिंसात्मक प्रदर्शन गरेका थिए । तर भारत सरकारले साेही योजनाबमाेजिम सैनिक भर्ना प्रक्रिया अघि बढाइसकेको छ ।

नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको सम्झौताअनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँछन् । हाल करिब २ सय ३० जना बेलायती सेनाकाे ब्रिगेड अफ गोर्खाजमा र १ सय ४० जनालाई सिंगापुर पुलिसकाे गोर्खा कन्टिन्जेन्टको लागि छनोट गरिन्छ । भारतीय सेनामा भने त्यस्ताे निश्चित काेटा ताेकिएकाे छैन । धरान र बुटवलका साथै दार्जिलिङ, लखनउ तथा  भारतका अन्य स्थानबाट पनि नेपाली युवालाई भारतीय सेनामा आवश्यकताअनुसार भर्ना लिने गरिएकाे छ ।

संसारमा ठूलोमध्येकाे सैन्य शक्ति भएकाे मुलुक भारतमा अहिले सैनिक संख्या १४ लाखको हाराहारीमा छ । जसमा गाेर्खालीकाे संख्या करिब ३५ हजार छ । भारतीय सेनामा बर्सेनि झन्डै ६० हजारले नियमित अवकाश पाउँछन् ।