गृहपृष्ठ राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

सप्तरीस्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार संयुक्त रुपमा शुभारम्भ गरे ।

कार्यक्रममा ट्रक व्यवसायी एशोसिएशन सप्तरीका अध्यक्ष जगदीश अर्यालले राजविराज–९ मलेठस्थित एशोसिएशनको नाममा रहेको दुई कठ्ठा जग्गा यातायात व्यवस्था कार्यालयलाई प्रदान गर्ने जानकारी दिए ।

प्रदेश सरकारले गत फागुन २४ गते यातायात व्यवस्था सेवा कार्यालय राजविराजमा स्थापना गर्ने निर्णय गरेको थियो । सेवा कार्यालयका प्रमुख शशि यादवले यातायातसम्बन्धी कामका लागि सप्तरीका सेवाग्राहीलाई सिरहाको लहान जानुपर्ने अवस्था अन्त्य भएको जानकारी दिए ।

उनका अनुसार हाललाई कार्यालयबाट सवारीधनी प्रमाण र सवारीचालक प्रमाणपत्रको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास रुट अनुमति, पटके सेवा अस्थायी रुट अनुमति र यातायात सेवा पञ्जीकृतजस्ता सेवा प्रवाह गरिनेछ ।

हाल मधेस प्रदेशमा पर्साको वीरगञ्ज, सिरहाको लहान, धनुषाको जनकपुरधाममा यातायात व्यवस्था कार्यालय रहेको छ भने रौतहट, बर्दिबासमा सो सेवा कार्यालय स्थापना गर्न लागिएको जनाइएको छ ।

प्रकाशित समय : ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु